चितवन – कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न, सडक बालबालिका तथा मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले १३ औं दिन पनि खाना खुवाएको छ । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४ वटा संस्थाहरुले चैत्र २९ गतेदेखी विपन्न वर्गलाई खाना खुवाईरहेको छ ।
१३ औं दिन अन्तर्गत आज (बिहीबार) नेपाल सुनचांँदी व्यवसायी संघ महिला समुहले खाना खुवाएको हो । आज मातातिर्थ औंसीको अवसरमा महिला संघको तर्फबाट उनिहरुलाई खान खुवाईएको समुहकी अध्यक्ष रुपा बराली जानकारी दिईन् ।
आज एक सय ७० जनालाई खाना खुवाईएको बराली बताईन् । “आज मातातिर्थ औंसी समेत भएकोले कोही पनि भोकै नहुन भनेर महिला संघको अग्रसरतामा खाना खुवाईएको हो उनले भनिन् ।”लकडाउनको समयमा खानाको कारण समस्यामा परेका वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्धेश्यले ४ वटा संस्थाहरुले संयुक्त रुपमा दैनिक खुवाउदै आईरहेको छ ।
पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिदै गएपनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुको भनाई छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिषरमा भोजन वितरण गरिरहेको छ । महामारीको त्रास र जोखिमलाई मध्यनजर गरी होलबडी सेनिटाइजिङ्ग र सामाजिक दुरी कायम गरी दिनहँु खाना दिईदै आइएको छ ।
मागेर सम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरुलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने चेम्बर अफ कमर्सका सदस्य एवं युवा व्यवसायी रुविन रामुदामुले बताए । संस्थामा कोष रकम अभाव भएपनि यस कार्यलाई निरन्तरता दिने रामुदामुले बताए ।
चारवटै संस्थाको कोष रकम बाट उनीहरुलाई भोजन वितरण गरिएको छ । हाल नारायणगढ बजार वरिपरि रहेका त्यस्ता व्यक्तिहरुलाई लक्षित गरी खाना खुवाईएको हो । नेपाल सुनचांँदी व्यवसायी सघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो ।