ठगिएका मजदुर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १९ गते, शुक्रबार १२:००

मजदुर दिवस को शुभकामना ।।

ठगिएका मजदुर

छन्द :- शार्दूलविक्रीडित

फोर्दा पत्थरको पहाड घनले ठेला उठे हातमा
बोक्दा पत्थर भासियो वजनले खाल्डो भयो माथमा
डाँडो सम्म बनाउदा दिन बिते निर्माणका खातिर
छाकै टार्न सधैं असम्भव हुने ज्याला दियौ आखिर ।।१।।

पिट्दै लौह बने अनेक मसिना निर्माणका साधन
बाढी झैँ पसिना बगेर नुनिलो हुन्थ्यो सधैं आरन
ताप्के डाडु भए तयार सबका चिम्टा बने सुन्दर
पुन्की चामलले चलेन घरको भान्छा कबै आखिर ।।२।।

थाङ्ना टाल्न बसेर जीवन गयो पाली र ‘थारो’ पर
टोपी शुद्ध भयो भएं म अछुतो छ्यापिन्छ पानी अझ
चोली या फरिया सबै किसिमका थोत्रा तुनेंथें तर
बार्है माँस खुटेर पत्रु कपडा नाँङ्गै भएँ आखिर ।।३।।

चाल्दै हात बुनेँ नयाँ चहकिला ढाका तथा मल्मल
तान्दा कोल गयो उमेर सकियो बाँकी नराखी बल
भोग्दै कष्ट अनेक यो वदनले मानेन केही पिर
लाखौं लाख कमाउथेँ तर सधैँ भोकै परेँ आखिर ।।४।।

बाँझो जोत्छु बगाउँदै म पसिना खाद्यान्न उब्जाउछु
पालेको दुहुनो दुहेर रसिलो धारा सधैं झार्दछु
खाने अन्न सगै सदैव हरिया सब्जी फलाएँ तर
खानाको अनिकालले म सिकुटे बन्दै गएँ आखिर ।।५।।

बर्षौंबर्ष भयो बडो गजबले ठोकिन्छ ढ्याङ्रो यहाँ
नाम्लेको निहुमा गरेर रमिता चम्किन्छ नेता सदा
भो भो भो अति भो वृथा श्रमिकको चोला नओढ्ने गर
आफै मालिक भै अझै श्रमिकको नेता भयौ आखिर ।।६।।

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु