• गैरआवासीय नेपाली सङ्घ ले लियो मध्यपूर्वको जानकारी , अलपत्र उद्वार गर्न २० करोड सिडमनिको माग, तत्काल फर्काउन नसके समस्या नियन्त्रणबाहिर हुनेछ : मध्यपूर्व संयोजक गुरुङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १२:४०

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । श्वास्थ्य समितिका अध्यक्ष सन्जीब सापकोटाको अध्यक्षतामा भर्चुअल बैठकको आयोजना गरी मध्यपूर्वका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो । कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिब हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, सचिब राजेन्द्र कुमार शर्मा तथा मध्यपूर्वका एनआरएन संयोजक प्रबीण गुरुङ सहित मध्यपूर्वका बिभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा स्वास्थ्य समितीका तर्फबाट यूएईबाट रबिन्द्र कुमार यादब, साउदी अरबबाट अनिरुद्द पाठक, कतारबाट नितेश अर्याल लगायतको उपस्थिति रहेको थियो । मध्यपूर्वमा रहेका नेपालीहरुको अवस्थाको बारेमा उक्त छलफल केन्द्रित रहेको छलफलमा अधिकांश एनसीसी अध्यक्षहरुले अलपत्र परेका नेपालीहरुको तत्काल उद्दार गर्नुपर्ने माग गरेका थिए।

    कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले साकारात्मक सुचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए। कतारका लागि नेपाली राजदूत नारद भारद्वजले नेपाल सरकारले प्राथमिकताक्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिदै कोरोनाको समस्या कत्ति सम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा जोड दिए ।

    अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ मध्यपूर्वमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै विश्वमाहामारीबाट बच्न यो बैठक कोशेढुङा साबित हुने आशा व्यक्त गरेका थिए । उपाध्यक्ष बद्री केसीले नेपाली मजदूरहरुको उद्दारको लागि २० करोड सम्मको सीड मनीको व्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताब गरिएको जानकारी गराएका थिए । बैदेशिक रोजगार समितीका सँयोजक समेत रहेका केसीले बिदेशमा अलपत्र परेका १ सय १२ जना नेपालीहरुका शब नेपाल लैजान नेपाल सरकारले कदम चाल्नु पर्नेमा जोड दिएका थिए । त्यस्तै आइसिसि महासचिब हेमराज शर्माले बिभिन्न देशहरुमा रहेका दुताबासले एकद्वार प्रणालीद्वारा नेपालीहरुको उद्दार गर्नु बताउंदै अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने बेला आईसकेकोले अब थप ढिला गर्नु नहुने बताएका थिए ।

    शर्माले उद्दार गरिएका नेपालीहरुको व्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने प्रतिबद्दता जनाउदै संसारभरमा १६ सय स्वमसेवक मार्फत र ३१ हजार नेपालीहरुलाई खाध्यान्न सहयोग गरिएको जानकारी गराएका थिए । बिश्वभरमा झण्डै १ सय जना डाक्टरहरु नेपालीहरुको सेवामा खटिएको जानकारी शर्माले दिए । प्रबक्ता डिबी क्षेत्रीले नेपाल सरकारले अब आश्वासन मात्र दिएर नपुग्ने भन्दै कहिले सम्म नेपालीहरुलाई फिर्ता लैजान सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने बताए । केही देशहरुमा गर्भवती महिलाहरु अलपत्र परेका छन, उनिहरुको सुरक्षित मातृत्वमा नेपाल सरकारले ध्यान दिन जरुरी रहेको क्षेत्रीले बताए । सरकारले ठोस् योजना नबनाउँदा बिदेशका नेपालीहरुमा निरासा उत्पन्न भएको उनको भनाइ रहेको थियो ।

    एनआरएन मध्यपूर्वका संयोजक प्रबीण गुरुङले तत्काल नेपालीलाई स्वदेश फर्काउन नसके समस्या अझै जटिल हुने बताउंदै अब छलफल मात्र नभई एक्सनमा आउनुपर्ने बताए । गुरुङ्गले स्वदेश फ़र्काईएका सबैलाई जिल्लामै क्वारेन्टाइनको व्यवस्था गर्न सके सजहै समाधान हुने र समस्या पनि नहुनेकुरामा जोड दिदै भने, ‘मध्यपूर्व र दक्षिण एशियाली मुलुक मलेशिया विश्वमै ठूलो चुनौतिको रुपमा रहेको छ। यस क्षेत्रलाई समयमै सहजीकरण गर्न नसक्ने हो भने देशले ठूलो क्षति बेहोर्नु पर्ने छ।’ गुरुङले थपे, ‘केन्द्रबाट मध्यपूर्वमा आएको सहयोगको उच्च मुल्ल्यांकन गर्दै सम्पूर्ण आइसीसी पदादिकारीहरुलाई हार्दिक आभार व्यक्त गर्दछु’

    गुरुङले मध्यपूर्वका केहि नियोगले एनआरएनएको कुरालाई सुनुवाई नगरेको, आम जनताको फोन तथा समस्या सुनुवाई नगरेको गुनासो प्रति सहभागी रादूतहरुलाई ध्यानाकर्षण गराउदै भने ‘हामि एनआरएनए निस्वार्थ नेपालीको सेवामा लागेका छौं, यो परिस्थितिमा यदि सहकार्य गर्न नसकेको भए दूतावासले सहजीकरण गर्न धेरै गाह्रो हुने थियो। दूतावास जानुपूर्व नै हजारौं समस्या हामीले विचमै समाधान गरेका छौं। मलाई लाग्छ त्यो पक्कै पनि दूतावासले गौरव गर्ने कुरा हो, सहयोग भएन भन्ने गुनासो आउँदा दुख लाग्छ। ‘

    कार्यक्रममा कुवेतबाट मध्यपूर्ब महिला सँयोजक सुमित्रा राना, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्थाको बारेमा जानकारी गराएका थिए ।

    साउदी अरबबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य यस्मीन बेगमले जनचेतना जगाउनु पर्नेमा बिशेष जोड दिईन। मध्यपूर्ब उपसँयोजक राजेन्द्र अर्यालले दुताबास र बिभिन्न संघसंस्थाहरु एकताबद्द भएर यो प्रकोपसँग जुध्नु पर्ने आवश्यकता रहेको बताए । मिडिया समितिका सहसँयोजक तथा मानार्थ सदस्य मेघराज सापकोटाले स्वास्थ्य र सुरक्षाको बिषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए। बक्ताहरुले मनो वैज्ञानिक असरले गर्दा र्हिदयघात र आत्महत्याका घट्नाहरु बढेकोमा चिन्ता ब्यक्त गरेका थिए ।

    मध्यपूर्वमा रहेका नेपालीहरु मनोवैज्ञानीक रुपमा त्रसित रहेकोले उनिहरुको मनोबल उच्च बनाउन काउन्सिलिङ कार्यक्रमको आवश्यकता रहेको बक्ताहरुले बताए । बैठकले ‘हेल्थ टीम’ गठन गरी परिचालन गर्नुपर्ने, हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि ‘हेल्थ फण्ड’ को व्यवस्था गर्नु पर्नेमा जोड दिएको छ । कार्यक्रममा डाक्टर पुरु श्रेष्ठले नेपालीहरुको फिर्ती कसरी गर्ने भन्ने बारेको कार्ययोजना प्रस्तुत गरेका थिए ।

    अधिकांश बक्ताहरुले मध्यपूर्वमा रहेका एनसीसी र दुताबासले संयुक्त रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए । स्वास्थ्य समितिका सँयोजक सापकोटाले छिट्टै नै मध्यपूर्व स्वास्थ्य समिति गठन गरिने जानकारी गराए । समितिले मध्यपूर्बमा रहेका नेपालीहरुमा जनचेतना फैल्याउन्दै बिभिन्न कार्य गर्ने बताईएको छ । भर्चुअल बैठक स्वास्थ्य समितीका सँयोजक सन्जीब सापकोटाले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु