काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा प्रवेश गर्न सफल भएका छन् । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली हुन् ।
अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए ।
टप ७ सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति दिवेशले धन्यवाद दिएका छन् । नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएको बताउँदै उनले आफूलाई भाग्यमानी सम्झेको छु भन्दै भोट दिनुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।
संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् । ‘अर्थर गन’को उपनामबाट परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।