प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

पर्यटन क्षेत्रको समस्या तत्काल सम्बोधन नगरे देशकै अर्थतन्त्र दुर्घटनामा पर्न सक्छ : नाटोज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते, शनिबार १४:५४

राष्ट्रीय पर्यटन पत्रकार संघ (नाटोज) ले कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको गम्भीर असर र सो क्षेत्रको पुनरुत्थानमा सरकारले देखाएको उदासीनताप्रति चिन्ता व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नाटोजले विद्यमान संकटग्रस्त परिस्थितिप्रति सरकारले कत्ति पनि गम्भीरता नदेखाएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
“देशको अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोना महामारीले उठ्नै नसक्ने गरी थला पारिदिएको छ,” नाटोज अध्यक्ष शिव अधिकारी अविरलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “लगभग शून्यमा झरेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकारले गम्भीरताका साथ ठोस कदम नचाल्ने हो भने यो क्षेत्रले इतिहासमै नदेखेको दुर्दशा भोग्नुपर्ने छ, र यसबाट सिंगो राज्यले अपुरणीय क्षति व्यहोर्ने निश्चित छ ।”
ठूलो तयारी र लगानीका साथ भिजिट नेपाल २०२० अभियानमा जुटेका बेला आइपरेको यो संकटले पर्यटन क्षेत्रमा लागेको अर्बौंको लगानी डुब्ने अवस्थामा रहेको भन्दै विज्ञप्तिमा लामो संघर्ष गरेर स्थापित भएका सयौँ पर्यटन व्यवसायी विस्थापनको संघारमा पुगेको उल्लेख छ । यदि यस्तो भए यो क्षेत्रले पुरानै अवस्थामा फर्किन बिसौँ वर्ष संघर्ष गर्नुपर्ने नाटोजको विश्लेषण छ । लगभग शून्यको अवस्थामा पुगिसकेको पर्यटन क्षेत्रले बामे सर्नकै लागि पनि कम्तिमा दुई वर्ष लाग्ने उसको आकलन छ ।
नाटोजका अनुसार, २०२० का लागि यसअघि भएका ७० प्रतिशत बुकिंग रद्द भइसकेका छन् । विश्वभरको परिस्थिति हेर्दा बाँकी ३० प्रतिशत बुकिंग पनि सार्थक हुने लक्षण देखिएको छैन । यसबाट पर्यटन क्षेत्रमा लागेको अर्बौंको लगानीका साथै यस क्षेत्रमा कार्यरत हजारौँ मजदुरको रोजगारी संकटमा परेको छ । देशको अर्थतन्त्रको मजबुतीमा मात्र नभई सामाजिक उत्थान र विकास निर्माणका क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याइरहेका पर्यटन व्यवसायी एकाएक धरासायी हुनु राज्यकै लागि चिन्ताजनक अवस्था हो । तर, यस्तो गम्भीर र संवेदनशील विषयमा राज्यले देखाइरहेको उदासीनताले देशकै आर्थिक मेरुदन्ड तोडिन सक्ने भन्दै नाटोजले त्यसतर्फ सचेत रहन सरकारलाई आग्रह गरेको छ ।
पर्यटन क्षेत्रलाई सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने विद्यमान परिस्थितिमा यो क्षेत्रलाई लिएर अर्थमन्त्रीबाट भएका हल्काफुल्का टिप्पणीलाई केटाकेटीपनको संज्ञा दिँदै नाटोजले यस्तो संवेदनशील विषयमाथिको सरकारको उपेक्षाले राज्यलाई नै राम्रो नगर्ने चेतावनी दिएको छ ।
अहिलेसम्म सरकारी तबरबाट यो क्षेत्रको समस्या सम्बोधनको प्रयाससम्म नहुनुले भोलिको स्थिति निकै भयावह हुने संकेत देखिएको नाटोजको विज्ञप्तिमा उल्लेख छ ।
भर्खरै प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस योजना ल्याउन नसकेको टिप्पणी गर्दै नाटोजले बजेटमार्फत यो समस्याको ठोस रुपमा सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आगामी बजेटमा सम्पूर्ण पर्यटन व्यवसायी, श्रमिक र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारको उत्थान र पेसाव्यवसायगत सुरक्षणका लागि विशेष योजना समेटिनुपर्ने भन्दै नाटोजले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
“मुर्छाएको पर्यटन क्षेत्रलाई जगाएर तङ्ग्र्याउन सरकारले ठोस नीतिसहित तत्काल कदम चालोस्,” विज्ञप्तिको अन्त्यमा नाटोजले भनेको छ, “नत्र, अझै पनि सरकारका आँखा नखुल्ने हो भने पर्यटनसँगै सिंगो मुलुकको अर्थतन्त्र धरासायी हुने निश्चित छ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु