• लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश गर्ने तयारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार २१:०१

    काठमाडौँ – सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित  नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आइतबार मन्त्रिपरिषदमा पेश गरिँदैछ । नक्सा तयार भइसकेको र आज भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयका एक अधिकारीले बताउनु भयो ।

    सरकारको नीति तथा कार्यक्रममासमेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको छ । सोही प्रतिवद्धताका आधारमा मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो ।

    गत मंसिर महिनामा भारतले लिपुलेकलगायतका क्षेत्रसहित आफ्नो नक्सामा सामेल गरेर सार्वजनिक गरेपछि नेपालमा पनि आफ्नो भूमिसहितको नयाँ नक्सा साजर्वजनिक गर्न जनस्तरबाट सरकारलाई दबाब दिइएको थियो । यद्यपी सरकारले कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने बताउँदै आएको थियो तर नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दै आएको छ ।

    हालै भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारलाई सो क्षेत्रसमेत समेटेर नक्सा जारी गर्न चौतर्फि दबाब परेको छ । सोही सन्दर्भमा सरकारले नीति तथा कार्यक्रममार्फत नक्सा सार्वजनिक गर्न प्रतिवद्धता जनाएको हो ।

    नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन । मन्त्रिपरिषदले अनुमोदन गरेपछि नयाँ नक्सा सार्वजनिक गरिनेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु