नुवाकोटका सबै तहमा स्वास्थ्य सामग्री पुर्याउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १८:२१

कोरोना महामारी विरुद्धको लडाइँका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद बहादुरसिंह लामा गृहजिल्ला नुवाकोटका सबै स्थानीय तहमा स्वस्थ्य सामग्री लिएर जाँदै छन् । सोही अभियानअन्तर्गत सांसद लामाले आज लिखु गाउँपालिकालाई स्यानिटाइजर स्प्रे मेसिन, थर्मल गन, एन९५ मास्क, मेडिकल मास्क, एप्रोन सेट लगायत स्वस्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरे । सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले जरुरी स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सांसद् लामाप्रति आभार प्रकट गरे ।
सामग्री लिएर जाने क्रममा बाटैमा पर्ने लिखु गाउँपालिकालाई पहिलो चरणमा समग्री वितरण गरिएको लामाले बताएका छन् । बाँकी ९ वटा गाउँपालिका र २ नगरपालिकामा भने आउँदो शनिबार स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ ।
नुवाकोटमा विकासप्रेमी नेताको छवि बनाएका लामा यसअघि किस्पाङ गाउँपालिकाभर सेवामा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई लगायत स्वास्थ्य सुरक्षा सामग्री लिएर गाउँ पसेका थिए । यसपटक भने उनी नुवाकोटका १२ वटै तहमा पुग्ने गरी स्वास्थ्य सामग्री बोकेर जिल्ला पसेका हुन् ।
विपद्का बेला जनताका सुखदुःमा जोडिनु जनप्रतिनिधिको कर्तव्य नै हो । उनी यसलाई आफ्नो स्वाभाविक दायित्व ठान्छन् । पहिलेदेखि नै नुवाकोटवासीका सुखदुःखमा भिज्दै, जिल्लावासीको विकासको चाहनालाई आत्मसात गर्दै अघि बढेको स्मरण गर्दै लामा भन्छन्, ‘मेरो सम्पत्ति भन्नु नै नुवाकोटका जनता हुन् । जनप्रतिनिधि हुनुको नाताले जनताप्रतिको दायित्वमा म कहिल्यै चुक्नेछैन ।’
यतिखेर आफ्नो जिल्लालाई महामारीबाट जोगाउन लागिपरेका लामा विपद्का बेला जिल्लाप्रति आफ्नो दायित्व र जिम्मेवारी अझै बढी हुने ठान्दछन् । ‘यसै पनि विपद्मा एकअर्कालाई सघाउनु हरेक नागरिकको दायित्व हो । त्यसमाथि, हामी जनप्रतिनिधिले त यस बखत आफ्नो सम्पूर्ण तागत जिल्लावासीको हिफाजतमा लगाउनुपर्ने बेला आएको छ,’ हामीसँगको संक्षिप्त कुराकानीमा सांसद लामाले भनेका छन् ।
महामारीसँगै दुई महिनादेखिको लकडाउनका कारण आर्थिक संकटमा परेका परिवारको सहायताका विषयमा पनि आफू लगायत सबै जनप्रतिनिधिले ध्यान केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु