कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते, सोमबार २०:३०

काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेजलाई छानविन र कारवाही प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले नेसनल मेडिकल कलेजलाई कारवाही प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतका अनुसार नेसनल मेडिकल कलेजमा जेठ २ गते अस्पतालमा भर्ना गरिएका ७० वर्षीय पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

सोही दिन अस्पताल उनको शव आफन्तलाई बुझाएको थियो । कोरोना परीक्षणको नतिजा नआउँदै मृतकको शव आफन्तलाई बुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले घटनाको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

नेसनल मेडिकल कलेजमा श्वासप्रश्वासको समस्या लिएर ती पुरुषको जेठ ४ गते मृत्यु भएकै दिन शव आफन्तलाई बुझाएको थियो । ती पुरुषको थ्रोट स्वाब नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद आएपछि केन्द्रीय प्रयोगशालामा नमुना पठाएको थियो ।

उनको मृत्यु भएको ८ दिन पछि स्वास्थ्य मन्त्रालयले आज ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु