• जाजरकोट घटनाका दोषीलाई कारवाही को माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०६:१६

    गंगा बराल काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित विद्यार्थी संघले जाजरकोटमा भएको अमानवीय घटनाका दोषीलाई कारवाही नगरे सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।
    संघले काठमाडौको जोरपाटीमा निकालेको विरोध जुलुसमा प्लेकार्ड प्रदर्शन गरेर जातीय विभेद र छुवाछुतको विरोध गरेको थियो । शिक्षित समाज विकास गर, छुवाछुत अन्त्य गर, अन्तरजातीय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिलेसम्म ?,दोषीलाई कारवाही गर लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै कोणसभा पनि गरिएको थियो । संघका अध्यक्ष राजु सुनारले घटनामा ४ जनाको अकल्पनीय मृत्यु भएको भन्दै दोषीलाई कारवाही गर्न र पीडितलाई सामाजिक सम्मान दिन आग्रह गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नवराज विक केटी लिन जाँदा जाजरकोटको भेरी नगरपालिकाका केटीका परिवार र गाउँलेले आक्रमण गर्दा विकसहित ४ जनाको अकालमा मृत्यु भएको हो । आजमात्र विकका साथी लोकेन्द्र सुनारको शव खोलामा भेटिएको थियो । अझै २ जना बेपत्ता छन् । भेरीकी सुष्मा मल्लसँग प्रेममा रहेका विक साथीहरुसहित केटी लिन शनिबार भेरी पुगेका थिए ।

    दलितको छोरो भन्दै परिवार र स्थानीयले उनीहरुलाई लखेटेर कुटेका थिए । कुटपीटबाट भाग्दा उनीहरु भेरी नदीमा र परेका थिए । प्रहरीले मल्ल परिवारका सदस्य, स्थानीय र वडाध्यक्षलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । यसबारेमा प्रतिनिधिभसभा र राष्टियसभामा पनि सांसदले आवाज उठाइरहेका छन् । दोषीलाई कारवाही गर्न भन्दै विभिन्न संघ संस्था पनि सक्रिय भएर लागेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु