• मलाई व्यवसाय भन्दा मानवसेवा गर्न आनन्द लाग्छ’ : कार्की

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १५:०४

    चितवन । चाहे भुकम्प होस, चाहे बाढी पहिरो, चाहे अन्य कुनै विपद आओस । उहांँका हातहरु सधै फैलिरहन्छन । यस्ता विषम परिस्थितिमा उहांँको मन त्यसै टुलुटुलु हेरेर बस्नै सक्दैन , मुटु भतभत पोल्छ, आंँखा रसाउंँछन , ओठ काम्छन । यही कमलो मन भएका केशव कार्की आफू व्यवसायी भएर पनि समाज सेवामा उक्तिकै चर्चित नाम हो । भुकम्पको बेला पनि धादिङ र गोरखाका बिभिन्न ठाउँमा खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तु दिएर सहयोग गर्दै आउनु भएका कार्की समाजसेवाको पर्यायवाची नाम हो । दशकौं अघिदेखि आज सम्म उहांँले आफ्नो समाजसेवाको भारी बिसाउनु भएको छैन । उहांँले अहिले पनि समाजसेवाको पगरी गुथिरहनु भएको छ । उहांँको यो अनवरत यात्रा नदी जस्तै वगिरहेको छ । ‘म कसैको दुःख पीडा देख्नै सक्दिन , सहयोग गर्दा मलाई आनन्द लाग्छ ।’ कार्कीले आफ्नो मनको पोको फुकाउनु भयो । विभिन्न संघ/सस्थालाई आर्थिक तथा रचनात्मक सहयोग गर्दै आउनु भएका कार्की भरतपुरका स्थायी बासिन्दा हुनुहुन्छ ।

    पेशा व्यवसायले घरजग्गा व्यवसायी भए पनि उहांँले भोकालाई भोजन, गरीबलाई गास र कपास , बिरामीलाई सास दिने सारथी बन्दै आउनु भएको छ । कसैले खान पाएनन उहांँ हाजिर भइहाल्नु हुन्छ , कसैले लुगा लगाउन पाएनन उहांँलाई नै सबैले सम्झन्छन । आर्थिक अभावको कारण उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरेस भनेर उहांँले दर्जनौं गरीब तथा दीन दुःखीलाई पनि सहयोग गर्दै आउनु भएको छ । ‘कसैले सहयोग माग्न आउंँदा मैले सक्दो सहयोग गर्दै आएको छु कसैलाई रित्तो फर्काएको छैन ।’ उहांँले परोपकारी भाव झल्काउनु भयो । यतिमा मात्र कार्की सिमित हुनु्हुन्न बेबारिसे बालबालिकाको लागि अभिभावक , अनि बृद्धबृद्धाको लागि सन्तान रुपमा भूमिका निभाईरहनु भएको छ । ‘मलाई मरिन्जेल सम्म दिन पुगोस, एकछाक खान कमी नहोस ।’ उहांँले भन्नुभयो ।

    चाहे देवघाटका बृद्धआश्रम, चाहे चितवनका चेपाङ बालबालिका संरक्षण केन्द्र एवं दर्जनौ महिला तथा बालबालिकाका संस्थाहरुको लागि भगवानको अवतारको रुपमा परिचित हुनुहुन्छ कार्की । उहांँ यतिमा मात्र सिमीत हुनुहुन्न उहांँको चितवनका सञ्चारमाध्यम संँग गहिरो नाता छ । यसैले त उहांँले तात्कालिन पत्रकारहरुको संगठन प्रेस चौतारीको जग्गा खरीदको लागि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा लाखौं रुपमा पर्ने जग्गा दान दिइसक्नु भएको छ । यस्तै प्रेस युनियन चितवनको भवन निर्माणको लागि पनि कार्कीले पांँच लाख रुपैयांँ सहयोग गरिसक्नु भएको छ । यी त उहांँको नमुना उदारहरण मात्र हो । ‘धर्म भनेको जीउंँदो छँदानै गर्नुपर्छ , मरेपछि त आखिर खरानी नै हुने हो ।’ उहांँ अध्यात्मिक भाव दर्शाउनुहुन्छ । यसको अलावा कार्कीले विभिन्न धार्मिक मठ मन्दिर, शैक्षिक संस्थामा समेत सहयोग गर्दै आउनु भएको छ । यतिमा मात्रै उहांँको पाइला रोकिएको छैन । विश्व आज कोरोना भाइरसका कारण आक्रान्त भईरहेको छ , यो महामारीमा नेपाल पनि अछुतो रहेको छैन ।

    देश दुखिरहेको बेला र सारा नेपाली रोइरहेको बेला कार्कीको मानवीय यात्राले भने गति लिएको छ । उहांँले लकडाउन शुरु भए लगत्तै सहयोगी मन र हातलाई तीब्र रुपमा अगाडी बढाईरहनु भएको छ । ‘यस्तो महामारीको बेला मलाई घरमा बसेर समय व्यथित गर्न मननै लागेन उहांँले भन्नुभयो, मैले अहिलेसम्म सकेको सहयोग गर्दै आएको छु ।’ उहाँका अनुसार कार्कीले दर्जनौ ज्यालामजदुर, गरीब, विपन्न, बेसाहारालाई खाद्यान्न सहयोग गर्दै आउनु भएको छ । आफ्नै व्यवसाय समस्यामा परेको बेला उहांँले आफ्नो मनलाई कहिल्यै बांँधेर बस्नु भएन । ‘हामीलाई त जसोतसो छाक टार्न मुश्किल नहोला, तर त्यस्ता बेसहाराहरुले न काम पाएका छन न माम नै , यो मेरो समाजिक दायित्व पनि हो ।’ उहांँले दायित्व दर्शाउनु भयो । लक्ष्मी प्रसाद देवकोटा जस्तै मन भएका उहांँले सबै आर्थिक गतिविधि ठप्प भएको बेला पनि आफू समाजसेवामा निरन्तर लागि रहनु भएको छ । यस भौतिक तथा स्वार्थी संसारमा मानवीयता र धर्म हराउंँदै गएको बेला कार्कीले गरेका सामाजिक तथा मानवसेवाका उदाहरणीय कामबाट केही सिक्ने कि?

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु