• अमेरिकन फौजीकीराले गोरखाको मकै बालीमा पुर्याएको क्षतिर कीरा व्यवस्थापनमा गरिएकाप्रयासहरू

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार २०:१७

    डा. हरिकुमार श्रेष्ठ
    सिड सिष्टम अफिसर
    अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) नेपाल

    काठमाण्डौ – अमेरिकामा उत्पत्ति भई त्यहाँबाट वि.सं. २०७३ मा अफ्रिका र २०७५ मा भारत हुँदै गत वर्ष २०७६ मा नेपालमा भित्रिएको फल आर्मी वर्मलाई नेपालीमा अमेरिकन फौजी कीरा, खतरनाक फौजी कीरा, मिचाहा सिपाही कीरा वा आक्रामक फौजी कीराको नामहरूले चिनिन्छ ।

    यो कीराको लार्भाले ३५३ प्रजातिका बालीहरू जस्तै मकै, जुनेलो, धान, गहुँ, कोदो, उखु, बदाम, भटमास, कपासको साथै अन्य अन्न, घाँसे, तरकारी, इत्यादि बालीहरूमा क्षति पु¥याउने भए तापनि मकै बाली पाएसम्म अरु बालीमा क्षति गर्दैन ।

    यो कीराको लार्भाले मकैको सम्पूर्ण भागहरू जस्तै पात, डाँठ, गुवो, चमरा, जुँगा र घोगामा क्षति गर्दछ ।

    त्यसैले, २०७५ मा अफ्रिकाको घाना, जिम्बामेलगायत १२ देशहरूमा गरिएको एक अध्ययनअनुसार यो कीराबाट मकै उत्पादनमा करिब २९ प्रतिशत जति क्षति पुगेको देखिन्छ । नेपालमा पनि यो कीराले करिब ५० जिल्लामा प्रवेश गरी मकै बालीमा निकैनै क्षति गरिसकेको छ । त्यसैले, नेपालको अन्न बालीमध्ये दोस्रो स्थानमा पर्ने यो बालीको उत्पादनमा यो कीराको उपस्थितिले निकै ठूलो क्षति पु¥याउने अवस्था देखिन्छ ।

    यदि समयमै कीरा पहिचान गरी नियन्त्रण गर्न नसकिएको खण्डमा, यसले गर्ने क्षतिलाई २५ प्रतिशत मात्र मान्ने र आ.व. २०१६। १७ को कृषि तथा पशुपन्छी मन्त्रालयको उत्पादन तथ्यांक २३,००,१२१.०० मे.टनलाई आधार लिएर हिसाब गर्दा कुल उत्पादनमा यो वर्ष मात्रै नेपालमा २३ अरबभन्दा बढी र गोरखा जिल्लामा रु. ४० करोडभन्दा बढीको मकै क्षति हुनजाने अवस्था छ ।

    यो कीरा नेपालको गैँडाकोटमा प्रवेशपछि नेपालका विभिन्न जिल्लाहरूमा फैलिई मकै बालीमा ठूलो क्षति गर्दै आएकोमा यो वर्ष गोरखा जिल्लामा पनि प्रवेश गरी आतङ्क मच्चाउन थालेको छ । कृषि ज्ञान केन्द्र, गोरखाकी प्रमुख मनिता थापाबाट प्राप्त जानकारी अनुसार गोरखा जिल्लामा पहिलो पटक भिमसेन गाउँपालिकाको वडा नं. ७ मा ३०० रोपनी क्षेत्रफलमा क्षति गरी जिल्लाका अन्य गाउँ तथा नगरपालिकाहरूमा यो कीरा फैलिई मकै बालीमा नोक्सानी सुरु भइसकेको छ ।


    हाल जेष्ठ १२, २०७७ सम्म भिमसेन गाउँपालिकामा जम्मा १,००० रोपनी, गण्डकी गाउँपालिकामा ४,५०० रोपनी, गोरखा नगरपालिकामा १,६०० रोपनी, सहिद लखन गाउँपालिकामा ४०० रोपनी, सिरानचोक गाउँपालिकामा १,००० रोपनी र पालुङ्टार नगरपालिकामा ५०० रोपनी गरी गोरखा जिल्लामा यो पहिलो चरणमै ९,००० रोपनी अर्थात ४५० हेक्टर क्षेत्रफमा क्षति भएको अवस्था छ । यो कीराको लागि यो गर्मी मौषम अति नै उत्तम भएकोले यसको प्रकोप अझै रफ्तारमा बढ्ने स्थिति देखिन्छ । किनकि, यसबारेमा सम्पूर्ण किसानहरूमा जनचेतना वा जागरुकता भइसकेको छैन ।

    गोरखा जिल्लामा पनि यो कीराको प्रवेशपछि यसबाट भएको क्षति नियन्त्रणको लागि प्राविधिक, किसान र स्थानीय निकायहरू चिन्तित बन्न थालेका छन् । अहिलेको यो कोरोना लकडाउन वा बन्दाबन्दीको कारण किसानहरूमाझ गएर न त प्रभावकारी रुपमा प्रचारात्मक अभियाननै चलाउन सक्ने स्थिति छ न त पर्याप्त मात्रामा विषादीको व्यवस्था नै गर्न सक्ने स्थितिनै छ । यसले गर्दा कृषि क्षेत्रमा संलग्न व्यक्ति तथा निकायहरूलाई थप चुनौति बनेको छ ।

    तापनि, कृषि ज्ञान केन्द्र, गोरखाबाट यो कीरा पहिचान, क्षतिको प्रकृति, फैलावट र व्यवस्थापनको बारेमा सूचना प्रवाह गरिँदै आएको छ । त्यस्तै गरेर, स्थलगत अवलोकन गरी प्राविधिक सेवा टेवा दिने, विषादी तथा स्प्रेयर वितरण गर्ने, विषादीको उपलव्धतामा सहजीकरण गर्ने, तथ्यांक संकलन तथा अद्यावधिक गर्ने र प्रदेशदेखि संघसम्मका सम्बन्धित निकायहरूसँग सहकार्य गरी जिल्लाका किसानहरूलाई सहयोग गरिँदै आएको कुरा पनि कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बताएकी थिइन् ।

    विगतका वर्षहरूमा देखिने कीराहरूभन्दा यो कीरा नितान्त फरक र बढी क्षति पु¥याउने खालको भएकोले यस वर्ष मकैमा लागेको यो कीराको व्यवस्थापनको लागि केही प्रयासहरू गरिए तापनि यसको नियन्त्रण गर्न गाह्रो भएको कुरा पालुङ्टार नगरपालिका, वडा नं ६, भोटेकाटेमा अवस्थित लक्ष्मी बहुउद्देश्यीय किसान समुहका अध्यक्ष टीकाराम श्रेष्ठलगायत सम्पूर्ण सदस्यहरू उल्लेख गर्दछन् ।

    कोभिड १९ को बन्दाबन्दीको कारण समयमै जग्गा चाक्लावन्दीको काम नसकिएको वा कहिले बढी पानीको कारण हालसम्म पनि अधिकांस जमीनमा मकै रोप्न पाएका छैनन् । अब लगाउने मकैमा यो कीराको समस्या अझै जटिल भई आगामी वर्षमा खाद्य संकट पर्ने होकि भनी चिन्ता गर्न थालेका छन् ।

    त्यस्तै गरेर, यस कीरा तथा यसले गरेको क्षति पहिचान गरी प्रभावकारी रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनी जनचासो बढ्न थालेकोले पालुङ्टार नगरपालिकाका मेयर ई. दीपकबावु कँडेल र उपमेयर पम्फा बसेलले यो पङ्तिकारसँग समन्वय गरेपश्चात नेशनल फल आर्मीवर्म टास्क फोर्स (प्राविधिक टिम)का केही पदाधिकारीहरूसँग समन्वय गरी गत जेष्ठ १०, २०७७ का दिन करिब ५ घण्टाको अनलाइन तालिम कार्यक्रम संचालन गरिसकिएको छ ।

    उक्त तालिममा पालुङ्टार नगरपालिकाका मेयर, उपमेयर, कर्मचारीहरू तथा किसानहरूको साथै गोरखा जिल्लाका सिरानचोक, सहिद लखन र बाह्रपाक सुलिकोट गाउँपालिकाका अध्यक्षहरू, कृषि ज्ञान केन्द्रकी प्रमुख तथा कर्मचारीहरू, आईसीड, काठमाडौ र अतिथिहरुको साथै स्रोतव्यक्तिहरू गरी २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    यो तालिममा स्रोत व्यक्तिहरूमा पीक्युपीएमसी, हरिहरभवनका वरिष्ठ बाली संरक्षण अधिकृतहरू द्वय रामकृष्ण सुवेदी र महेशचन्द्र आचार्य, कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा, सिमिटका सिड सिष्टम अफिसर डा. हरिकुमार श्रेष्ठ र आईडीई नेपालका वरिष्ठ प्राविधिक विज्ञ ललित साह थिए । तालिममा गोरखा जिल्लामा अमेरिकन फौजी कीराको अवस्था; यस कीराको परिचय, जीवनचक्र तथा पहिचान, यसबाट हुने क्षतिको लक्षण, नेपालमा यसको वर्तमान स्थिति र क्षति आँकलन; अनुगमन तथा व्यवस्थापनमा गरिएका अनुसन्धानात्मक क्रियाकलाप र नतिजाहरु; अनुगमन तथा स्काउटिङ्गस, र यसको व्यवस्थापनको बारेमा प्रकाश पारिएको थियो ।

    तालिमको समापन मन्तव्यको क्रममा पीक्युपीएमसीका प्रमुख सहदेवप्रसाद हुमागाईँ र कृपवीमका सहसचिव डा. हरिबहादुर के.सी.बाट त्यहाँ छलफलमा उठेका प्राविधिक तथा नीतिगत जिज्ञासाहरूको जवाफ दिनुको साथै उक्त पालिकाका मेयर ई. कँडेलबाट सहभागी सबैमा धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो । यसरी स्थानीय निकायको पहलमा केन्द्रियस्तरका विज्ञहरूलाई संलग्न गराई स्थानीय निकायका पदाधिकारी, कर्मचारीहरू र किसानहरूलाई दिइएको यो तालिम सायद नेपालकै पहिलो तालिम हो ।

    अन्तमा, यो कीराको व्यवस्थापनको लागि एकीकृत व्यवस्थापन विधि अपनाउनुनै उत्तम उपाय भएको र यसको लागि स्थानीय निकायहरू, कृषि ज्ञान केन्द्र र जिल्लास्थित विकास साझेदार निकायहरू पनि एकीकृत रुपमा अगाडि बढ्न पर्ने देखिन्छ । यसको अलावा, यस किसिमको तालिमलाई अन्य क्षेत्रतिर पनि निरन्तरता दिन सकेको खण्डमा धेरैभन्दा धेरै स्थानीय जनप्रतिनिधिहरूको साथै प्राविधिकहरूको यस कीरासम्बन्धी क्षमतामा अभिवृद्धि भई यो कीरा नियन्त्रणमा विशेष सहयोग पुग्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु