बुटवल-महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २१२ भन्दा बढी मुलुक प्रभावित छन । रोगबाट मुलुकलाई जोगाउन सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को कारण मानिसको आवाजावत ठप्प छ । यस्तो अवस्थामा लकडाउनलाई कतिपयले भरपुर सदुपयोग पनि गरिरहेका छन् । भर्खरै कालोपत्र गरिएको र लेयर थपिएको बुटवलको विभिन्न ठाउँका सडकमा अहिले लेन, जेब्राक्रसिङ तथा ट्राफिक सङ्केत मार्किङ गर्ने काम जारी छ । बुटवलको सडक सिँगार्ने काममा कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाएर काम जारी गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरका मुख्य–मुख्य सडकहरुमा रोड मार्किङ्ग गर्ने काम गरिरहेको छ । नया निर्माण भएका नगरका ठूला सडकहरुमा रोड मार्किङ्ग गर्दा ट्र्राफिक व्यवस्थापनमा सहजीकरण हुने साथै सडकहरु पनि आर्कषक देखिने छन ।
अहिले सडक मार्किङका लागि उपयुक्त समय हो । यो बेलामा न मानिसको भीडभाड छ न सडकको अवरोध । अरु बेलामा गाडीको चापले काम गर्न सकिने थिएन । राति काम गर्नुपर्ने बाध्यता थियो । राति काम गर्दा नसुक्ने समस्याले गाडीको चक्कामै टाँसिएर बिग्रने सम्भावना थियो । यस पटक लकडाउनले दिउँसो नै काम गर्न सकिने भएकाले रङ राम्रोसँग बस्नेछ ।
बुटवलका अमरपथ, विपी पथ, दरबारमार्ग पथ, इलाका प्रहरी कार्यालय अगाडिको बाटो, श्रवण पथ, मदन पथ, शुक्रपथ, धर्मपथ, दशरथ पथ लगायतका सडकहरुमा रोड मार्किङ्ग गर्ने काम भईरहेको छ भने अन्य सडकहरुमा समेत निर्माणको प्रक्रिया अगाडि बढेको छ ।