• नारायणगढ-बुटवल सडक विस्तारको काममा ठेकदारको अलमल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २१:४४

    चितवन – सरकारले ठूला आयोजनाहरुको काम अघि बढाउन आवश्यक समन्वय गरेको बताइरहे पनि नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम अघि बढ्न सकेको छैन ।ठेेकेदारले काम नगर्दा सडक विस्तार काम लगभग रोकिएको छ ।  आयोजना पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आफूहरुले काम अघि बढाउन ठेकेदारलाई आवश्यक समन्वय गरे पनि काम सहज रुपमा अघि बढ्न सकेको छैन ।

    आयोजनाको पूर्वी खण्डको भेडाबारीमा सामान्य कल्भर्टको काममा ठेकेदार भुलिरहेको देखिन्छ । अन्यत्र खासै काम भएको छैन । कामदार पनि निकै कम छन् ।ठेकेदारले कामको गति बढाउने रुची देखाएको छैन । अति नै न्यून जनशक्ति राखेर अति सामान्य काम मात्रैं गरिरहेको छ ।काम पुरै बन्द गरेको अवस्था पनि छैन, गति पक्डिएको अवस्था पनि छैन, आयोजना प्रमुख अधिकारीले भने, कामदार र सामाग्रीको अभाव देखाएर काम ढिला भएको छ ।

    आफूहरुले कामदारको व्यवस्थापन र सामाग्रीका संकलनका लागि निरन्तर प्रयास गरिरहेको तर ठेकेदारले खास रुची नदेखाउँदा समस्या भएको अधिकारीले बताए ।कामको अवस्थाका बारेमा विभागसमेत जानकारी गराइएको छ । लकडाउनका कारणले काम गर्न नपाएको गुनासो विगतमा ठेकेदारबाट आएको भए पनि अहिले सरकारले काम सुरु गर्न आवश्यक  प्रवन्ध गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ ।

    ११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडक विस्तारको काम निकै सुस्त छ ।‘सडकको पोल सार्ने र रुख कटान गर्न सकिन्छ कि भनेर पनि पहल गरियो, तर ठेकेदार नै नतातेपछि हामीले के गर्न सकिन्छ र ?,’ आयोजना प्रमुख अधिकारीले भने, ‘काम गर्ने स्पेसहरु पर्याप्त छन्, र पनि काम भएन ।’गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ बनाएर ठेक्का लगाइएको थियो ।

    दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा नै काम खासै नभएकोले पश्चिम खण्डमा झनै काम भएको छैन ।यस्तै अवस्था रहे असोज, कार्तिकअघि कामले गति लिन नसक्ने अवस्था आएको आयोजनाको पूर्वी खण्डका प्रमुख अधिकारीले बताए ।सडकको पूर्वीखण्डमा पर्ने ९ ठूला पुलमध्ये ३ वटाको काम तत्कालै अघि बढाइने भनिए पनि काम अघि बढेको छैन । सन् २०२० मा पाँच पुल सुरु गर्ने तालिका भए पनि केही प्रभावित भएकोले तत्काल तीनबाट सुरु गर्ने योजनासमेत अलपत्र परेको छ ।

    कोवासोती पूर्व र पश्चिममा एक/एक वटा तथा लोकाहा खोलामा पुलको काम सुरु गर्ने भनिएको थियो । तर दुबै काम अघि बढेको छैन ।काम गर्ने कामदारहरुलाई क्वारेन्टाइनमा राखेर काम गराउन सकिने भए पनि ठेकेदार कम्पनीले रुची देखाएको छैन ।पश्चिमी खण्डमा साना, मध्यम, ठूला पुल, कल्भर्ट गरी २७६ संरचना बन्छन् । यहाँ ९ ठूला पुल बन्ने छन् । सडकखण्ड बिस्तारमा क्रममा केही रुखहरु काट्ने अझै बाँकी छ ।यसअघि सामुदायिक वन उपभोक्ता समितिका केही सदस्यहरुले काँटिएका रुख सरकारको नभई समुदायको हुने भन्दैं अवरोध खडा गरेपछि कामसमेत प्रभावित बनेको थियो । सडक विस्तारका क्रममा पूर्वी र पश्चिम दुवै खण्डमा गरी ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ ।

    २०७५ पुषमा ठेक्का सम्झौता भएर सोही बर्ष चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलेे सडक बिस्तारको शिलान्यास बुटलबमा गरेका थिए । एसियाली विकास बैंकको ऋण सहयोग बिस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।२०८० साउन २२ गतेसम्ममा (साँढे तीन वर्ष) निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट(दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।-onlinekhabar

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु