रुपन्देही – रूपन्देहीको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)को कमाण्डमा तीन सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवारको नेतृत्वमा प्रहरीले समिति गठन गरेको हो ।
टोलीले मंगलबारबाटै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्न थालेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्रसिंह धानुकले बताए । हत्या अभियोगमा घटनास्थलबाटै बेहोस अवस्थामा पक्राउ परेका सुर्खेतको साविकको नेटा गाविस–३ का ३२ वर्षे झसेन्द्रबहादुर सिञ्जालीले प्रारम्भिक अनुसन्धानमा हत्या स्वीकार गरेका छन् । ‘अन्य सोधपुछ हुँदैछ,’ उनले भने, ‘अहिले अस्पतालमै उपचार गराइरहेकाले थप विवरण लिएका छैनौं ।’ सोमबार राति रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा रहेको गांगादेवी पशुपंक्षी फार्ममा काम गर्ने ५ जनाको हत्या भएको थियो ।
हत्या हुनेमा रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय माधव मुसहर उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोखराज मुसहर, १७ वर्षका करन चौधरी र आशीष चौधरी छन् ।
करन र आशीष फार्ममा काम नगर्ने तर रातिमा सुत्न जाने गरेका युवा हुन् । मृतक सबैलाई कोदालो (फरुवा)ले घाँटी, गर्धन र टाउकोमा हानेर हत्या गरिएको छ । हत्या गरेपछि सिंजाली त्यहीं गोठमै पराल भत्र लुकेर बसेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले घटनास्थलबाट पाँचै जनाको शव उठाएको छ । शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र हत्यामा संलग्न भएको आशंका गरिएका सिंजालीको अहिले क्रिमसन अस्पतालमै उपचार भइरहेको छ ।-ekantipur