जेठ २९, काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँ पुगेको छ । यो मूल्य आज सम्मकै उच्च हो ।
बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन आज १ हजारले बढेको हो । त्यस्तै तेजावी सुनको मूल्य आज ८९ हजार १६५ रुपैंयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैंयाँ बढेर आज ९५० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।
सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन बुधबार ८८ हजार ६०० मा कारोबार भएको हो ।
महासंघका अनुसार गत वर्ष आजका दिन सुन प्रतितोला ६२ हजार ३ सय रुपैंयाँ र चाँदी तोलाको ७१५ रुपैंयाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा सुनको मूल्य २७ हजार ३०० रुपैयाँले बढेको छ ।