• विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार भन्दा बढी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७७, सोमबार ०८:०६

    काठमाडौं, १ असार । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार नाघेको छ ।
    आज (सोमबार) बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमणका कारण चार लाख ३५ हजार एक सय १६ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण तीन हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म संक्रमितको संख्या ७९ लाख ८२ हजार नौ सय १२ पुगेको छ । गएको २४ घण्टामा विश्वभर एक लाख २२ हजार तीन सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।

    गएको २४ घण्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । त्यहाँ १९ हजार नौ सय २० जनामा संक्रमण देखिएको छ । अमेरिकापछि ब्राजिलमा १७ हजार भन्दा धेरै र भारतमा ११ हजार तीन सय ८२ जनामा संक्रमण देखिएको छ ।

    योसँगै भारतमा संक्रमितको संख्या तीन लाख ३३ हजार आठ पुगेको छ । भारतमा अहिलेसम्म संक्रमणको कारण नौ हजार पाँच सय २० जनाले ज्यान गुमाएका छन् । त्यहाँ आइतबार तीन सय २१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

    ‘अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौ लाग्छ’
    अमेरिकी वरिष्ठ जनस्वाथ्यविद डा. एन्थनी फाउचीले अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौं समय लाग्नसक्ने बताएका छन् ।

    उनले कोरोना भाइरसको सक्रमण फैलन नरोकिएको भन्दै यस्तोमा विदेश यात्रामाथिको प्रतिबन्ध खुला गर्नु जोखिम हुने भएकाले महिनौं समय लाग्ने चेतावनी दिएका हुन् ।

    अमेरिकाले लकडाउन खुकुलो गरेसँगै त्यहाँ दोस्रो चरणको संक्रमण फैलनसक्ने खतरा औल्याइएको छ । लकडाउन खुकुलो पारे लगत्तै कतिपय शहरमा कोरोना संक्रमणको अवस्था बढ्न थालेको जनाइएको छ ।

    गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोप, ब्रिटेन, चीन, ब्राजिलललगायत देशबाट अमरिका आउनेमाथि प्रतिबन्ध लगाएका थिए । यो प्रतिबन्ध कोरोना भाइरसको खोप नबन्दासम्म पनि लम्बिन सक्ने टेलीग्राफ अखबारलाई दिएको अन्तर्वार्तामा डा. फाउचीले बताएका छन् । आउँदो हिउँदसम्ममा खोप बन्न सक्ने आशा उनले व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु