काठमाडौं, ५ असार । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ७० हजार ३६७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ९ हजार २५७ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ५ हजार ५३२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४५० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ४० हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १५ लाख ५४ हजार ९८१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ७९ हजार २१७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४९ हजार ५७५ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ५२ हजार ४११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८४ हजार ६५९ को मृत्यु भएको छ । एसियामा १७ लाख ४० हजार ३७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४४ हजार ७३० जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ७० हजार ६६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार २४९ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।