राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ५ गते, शुक्रबार १९:३१

काठमाडौँ –सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएउने भएको छ । गृह मन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

मन्त्रालयले मापदण्ड कडाइका साथ पालना गराउन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूणर् रुपमा पालना गराउन पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ । मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निणर्य गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ । तर राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।

यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरेर नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । जिल्लाको स्थिति हेरेर हरेक जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड र लकडाउन मोडालिटी बनाउन सक्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु