• राष्ट्रिय कलाकार समूहले पश्चिम रुकुम सोती नरसंहार र अंगिरा पासीको सहयोग संकलन अभियान सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ असार २०७७, बिहीबार २०:२७

    काठमाडौं, ११ असार । राष्ट्रिय कलाकार समूहले पश्चिम रुकुम सोती नरसंहार र अंगिरा पासीको सहयोग संकलन अभियान सुरु गरेको छ । अभियानको मूल नारा छ,“अपराधको अगाडि कानून नझुकोस, असत्यको छायाँमा सत्य नलुकोस।” बिहीबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री जितु गौतम, बरिष्ठ कलाकार नीर शाह, बरिष्ठ पत्रकार ऋषि धमला, चलचित्र पत्रकार प्रकाश सुवेदी, यशुकुमार, अमृत खाँतीलगायतले रुकुमपश्चिम घट्नामा दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने धारणा राखेका छन् ।

    कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री तथा दलित अगुवा जितु गौतमले नवराज बिकलगायत ६ जनाको पाश्विक हत्या भएको बताउँदै रुकुमपश्चिम घट्नाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने बताए । रुकुमपश्चिममा नवराजलगायत ६ जना युवाहरुको निर्मम र पाश्विक हत्या हुँदा आज पूरै देश र जनता दुःखी रहेको र उनीहरुको न्यायको लागि आन्दोलित रहेको गौतमको भनार्य छ । उनले नेपाली माटोमा नवराजलगायत ६ जना युवाहरु जिउँदै रहने पनि बताए ।

    उनले भने,‘आज देश आन्दोलित छ । सडक र सदन दुवै आन्दोलित छ । सरकारपनि गम्भिर र होशियार हुनुपर्छ । हामीलाई विश्वास छ सरकारले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्छ र पीडितको पक्षमा न्याय दिलाउन भूमिका खेल्नेछ । सम्मानित अदालतले हत्याराहरुलाई कसरी सजाय दिन्छ र पीडितलाई कसरी न्याय दिन्छ भनेर त्रिनेत्र भएर नेपाली जनताले हेरिरहेका छन् ।’

    नवराजकी प्रेमिका अर्थात युवतीकी आमा प्रकाशी मल्ललाई एक लाख धरौटीमा छोडिएकोमा भने उनले अदालतको आदेश बेठीक भएको टिप्पणी गरे । प्रकाशी मल्ल रुकुमपश्चिम नरसंहारको सूत्राधार भएकोले उनलाई तारिखमा छोड्नु गलत भएको उनको भनाई छ । उनले भने,‘यो हत्याकाण्डको मुख्य सूत्रधार युवतीकी आमा प्रकाशी मल्ल हुन् । म घोर भत्र्सना गर्छु । म सम्मानित अदालतलाई आग्रह गर्छु कि अदालतले हत्याको सूत्राधारलाई किन रिहा गर्यो ? यो दशेमा न्याय ठिक ढंगले सम्पादन हुन्छ त ? भनेर अहिले प्रश्न उठेको छ ।’

    त्यस्तै, कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाहले रुकुमपश्चिम र रुपन्देहीकी अंगिरा पासीको हत्याकाण्डलाई नेपाली समाजमा कहालीलाग्दो र दुःखद् कथाको उदय भएको रुपमा चित्रण गरे । उनले भने,‘एउटा रुपन्देही र अर्को रुकुमपश्चिममा । नवराज बिकमाथि निर्मम प्रहार हुँदा भेरीको नदीमा जसरी नवराले भोगे, त्यसैगरि मलाई प्रत्येक रात र दिन मन दुःखेको । घोचेको छ ।’

    शाहले विश्वभरि नै सांस्कृतिक फाँट भनेको लैङ्गिग, वर्ग, जात र धर्म सबैमा निरपेक्ष रहेको सुनाए । उनले सांस्कृतिक क्षेत्रमा सबै प्रेमको पक्षमा हुने भन्दै घृणालाई कसैले पनि आत्मसात नगरेको र आफूहरुलाई सधैं प्रेमको पक्षमा उभ्याएको पनि सुनाए ।

    उनले नवराजले आफ्नो प्रेम माग्दा उनको हत्या गरिएको बताए । अदालतले युवतीकी आमालाई धरौटीमा रिहा गरेकोमा उनले पनि आपत्ति जनाए । उनले भने,‘प्रेम होईन घृणा गर्नेलाई दोषी नै होईन भनेर बचाउन खोजियो । अहिले अनेक किसिमका शंका उब्जन थाले । जघन्य अपराध गर्नेहरुलाई उपयुक्त सजाय दिनुपर्छ । दण्ड त प्राप्त हुनैपर्यो । होनहार ६ जना युवालाई मारेर भेरीको किनारामा बगाए । उनीहरु सबै सजाय र दण्डको भागीदार बन्नुपर्छ ।’

    यो हत्यामा संलग्नहरुलाई कारबाही भएन भने कारबाही गर्ने निकायमा बस्नेहरु नै आफैं कारबाहीको भागिदार बन्ने भन्दै होशियारपूर्वक रहन शाहले चेतावनी दिए । उनले दोषीहरुलाई कारबाही नगर्नेमाथि नै कारबाही गर्ने दिनको प्रारम्भ गर्न नपरोस भन्दै कडा चेतावनी दिए । शाहले मानव सभ्यताको शब्दकोशबाट नै दलित भन्ने शब्द हटाउन सकियोस र यसको लागि जागरुक अभियान चलोस भन्दै कलाकार यशकुमारले सुरु गरेको अभियानमा जोडिन विश्वभरि रहेका कलाकारहरुलाई आग्रह गरे ।

    कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पनि दुवै घट्ना जघन्य अपराध भएको भन्दै दोषीहरुलाई कानूनी कारबाही र पीडितलाई न्याय दिन आग्रह गरे । उक्त अभियानमा आफू र आफू आवद्ध रहेका सबै संस्थाहरुको साथ र सहयोग रहेको पनि धमलाले प्रतिबद्धता जनाए । उनले नेपालमा जातीय छुवाछुत र भेदभाव अन्त्य भैसक्दापनि यस्तो जघन्य अपराधका घट्ना घट्नु दुःखद् भएको भन्दै कानून बनेरमात्रै नहुने भन्दै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

    त्यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदीले संविधानमै दलित भन्ने शब्द राखिएको सुनाउँदै त्यो शब्द नहटाएसम्म यो विभेद अन्त्य हुन नसक्ने टिप्पणी गरे । उनले आफूले कहिलेपनि जातभात नमानेको जिकिर गरे । नेपाली चलचित्र क्षेत्रमा त झनै कुनैपनि छुवाछुत वा विभेद नभएको उनको दाबी छ । उनले रुकुमपश्चिम घट्नाको न्याय सम्पादनमा कुनै दबाब नहोस र राजनीतिक अभिप्रेरित नहोस भनेर खबरदारी गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले यो अभियानमा सबैको साथ रहिरहने जनाए ।

    कार्यक्रमका सभापतित्व गरेका अभियानका संयोजक यशकुमारले प्रेस विज्ञप्ती वाचन गरेका थिए । उनले आफूहरुको अभियानमा सबै कलाकारहरुको साथ र समर्थन रहेको सुनाए । उनले यो कार्यक्रमको किन आवश्यकत्ता पर्यो ? भन्नेबारेपनि यसको महत्व प्रकाश पारेका थिए । उनले आफूहरु कलाकारभन्दा पहिले यही समाजकै मान्छे भएको सुनाए । न्यायको लागि आवाज उठाउनु आफूहरुको दात्यिव भएको उनको भनाई छ ।
    उनले अहिलेको अवस्थामा आफूहरुसँग पीडितहरुलाई न्याय तथा पीडकहरुलाई हदैसम्मको सजाय दिलाउनु पर्ने अवस्था रहेको सुनाए ।

    यशकुमारको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पीडितहरु अत्यन्तै आर्थिक संकटमा गुज्रिरहनु भएको छ । जाजरकोट भेरी नगरपालिकाबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा जिल्ला अदालत जान ४० किलोमिटर दुरी रहेकोले अत्यन्त महंगो सावित हुन पुगेको छ । यीनै पृष्ठभुमिमा हामी राष्ट्रिय कलाकार समुहले पिडीतहरुलाई साचो न्याय र आवश्यक पुर्नस्थापना, के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर ढंगले लिएका छौ । तत्काल राहत र दीर्घकालीन रुपमा उनीहरुलाई पुर्नस्थापना गर्नको लागि सहयोग संकलन गर्ने अभियानलाई अगाडी बढाउने निर्णय गरेका छौ । सहयोग संकलन राष्ट्रिय कलाकार समुहबाट रु १,११,००० अक्षरेपी एकलाख एघार हजार रुपैया सहयोग कोषमा जम्मा गर्ने हामीलाई माया गर्नु हुने देश भित्र र विदेशमा रहनु हुने आदरणीय दाजु भाई दिदी बहिनी तथा मान्यजनहरुमा स्वइच्छा पुर्वक सक्दो आर्थिक सहयोग पुर्याइ दिनु हुन यसै पत्रकार सम्मेलनद्धारा हार्दिक अनुरोध गर्दछौ ।’

    कलाकार अमृत खातीले रुकुमपश्चिम नरसंहार, रुपन्देहीकी अंगिरा पासीको बलात्कारपछि हत्या, र धनुषाको २३ वर्षीया युवा सदाको हत्या यी तीनवटै घट्ना जघन्य अपराध भएको बताए । उने भने, यी तीनवटै घट्ना अपराधभित्रको पनि जघन्य अपराध हो । तर, २१औं शताब्दीमा पनि यस्तो विभेद हुनु दुःखद् हो । उनले सभ्य समाजलाई नै चूनौति दिने घट्नाका दोषीहरुलाई कारबाही र पीडितलाई न्याय नदिएसम्म आफूहरुको आन्दोलन, संघर्ष र अभियान जारी रहने बताए । कार्यक्रममा राजेश गहतराजले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्नुपर्ने बताएका थिए । पत्रकार सम्मेलनको सञ्चालन कृष्ण गजमेरले गरेका थिए ।

    हेरौं विज्ञप्ती :

    “अपराधको अगाडी कानुन नझुकोस्
    असत्यको छायामा सत्य नलुकोस्”
    पश्चिम रुकुम सोती नरसंहार अंगीता पासी सहयोग
    संकलन अभियान राष्ट्रिय कलाकार समुह

    प्रेस विज्ञप्ती
    आधुनिक नेपालको ईतिहासमा कालो दिन दर्ज भएको २०७७ जेठ १० गते जातिय भेदभाव तथा छुवाछुतको पृष्ठभुमिमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी मल्ल थरकी युवती र जाजरकोट ४ राना गाउँका नवराज विक विचको लामो समय देखिको प्रेम प्रकरणमा २०७७ जेठ १० गते नबराजकी प्रेमिकाले मलाई लिएर जान अलि धेरै साथी सहित लिएर आउ भनि बोलाएको र नवराज वि.क.ले १८ जना आफ्ना साथीहरु लिएर युवतीको घरमा पुगे पछि युवतीकी आमा प्रकाशी मल्लले त डुमलाई अस्तिको कुटाईले पुगेन रहेछ । आज नमारी छोडदिन भन्दै अध्यक्ष डम्मर बहादुर मल्ललाई खबर गरी वडाअध्यक्ष मल्लकै योजनामा गाउका सवै मानिसलाई घरेलु हतियार लठी प्रयोग गरी चारैतिर घेरा हाली लखेटी लखेटी क्रुरतापुर्वक नवराज विक टिकाराम सुनार गणेश बुडामगर,लोकेन्द्र सुनार संजिव विक र गोविन्द शाही लाई मारेर भेरी नदीमा फालेर छ जनाको नरसंहार गरियो । सयौ जनाको हुलहुज्जत र घेरा बन्दिले १२ जना युवालाई थिलो–थिलो कुटेर घाईते बनाई प्रहरीलाई जिम्मा लगाएको निर्मम घटनाप्रति हामी राष्ट्रिय कलाकार समुहको ध्यान आकर्षण भएको छ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को प्रस्तावमा नै सवै प्रकारका जातिय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चीत गर्न समावेसी र सहभागीता मुलक सिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गर्न संकल्प सहित महत्वपुर्ण सार्वजनिक प्रावधान विशेष सन्दर्भको विरलै इतिहासलाइृ विर्साउने सोति नरसंहारले नेपाल र अन्तराष्ट्रिय जगतलाई गम्भिर ढंगले सोच्न बाध्य बनाएको छ ।
    सम्पुर्ण दलित समुदाय सवै बर्ग समुदाय,पत्रकार ,प्राध्यापक,वकिल बुद्धिजिवी लेखक,जनताका जनप्रतिनिधीहरु आन्दोलित हुदै सडक र संसदमा विरोधको आवाज बुलन्द भएको छ । साहित्य कला संगीत संस्कृतिको क्षेत्रमा अनवरत साधना गर्दै समाज र राष्ट्रको अनुपम योगदान पुरयाईरहेका यसै समुदायका हामी कलाकार हरु झनै मुर्छित भएका छौ । तसर्थ नवराज बि.क. सहित ६ जना युवाको हत्या प्रकरण साचो न्याय र १२ जना घाईतेको स्वास्थ्य उपचार सहित पिडीत परिवारको दयनिय अवस्थालाई सहयोग पुरयाउन कोभिड १९ को कहर र लकडाउनको विषम अवस्थामा नै निश्चित संस्थामा भए पनि केही साहसिक योजना सहित रुकुम पश्चिम सोती नरसंहार र अंगिता पासी सहयोग संकलन अभियान राष्ट्रिय कलाकार समुह स्थापना गरी सत्कार्यमा जुटेका छौ ।
    रुपन्देही देवदह नगरपालिका की अंगीरा पासीलाई सोही नगरपालिका ११ का २५ बर्षिय विरेन्द्र भरले जवरजस्ति करणी गरेको अवस्थामा स्थानीय समाजले थाहा पाए पछि बलत्कारी विरेन्द्र भर र उसका आमा सहित घर परिवारलाई देवदह नगरपालिका ११ नं वडा अध्यक्ष अम्वर बहादुर चौधरी सहित समाजका अगुवाहरुले जिम्मा लगाएका थिए । कथित तल्लो जात दलित भएकोले घरलैजान नमानेका विरेन्द्र र उनकी आमा अगाली भरले कुटपिट गरेको केही घण्टा मै रोहिणी नदीको किनारको रुखमा झुण्डीएको अवस्थामा अंगीराको शव भेटिएको थियो । ठुलो दवाव पश्चाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जवरजस्ती करणी जातिय भेदभाव तथा छुवाछुत कसुर र आत्महत्या दुरुत्साहन अभियोग सहित अदालतमा मुद्धा पेश गरेको छ । हत्या भएकी अंगीरा पासीका बुवा आमा असाध्यै गरीव परिवार दुख कष्टका साथ मुद्धा खेपी रहेका छन् । अहिले हामीसंग पिडीतहरुलाई न्याय तथा पिडक हरुलाई हदै सम्मको सजाय दिलाउनु पर्ने अवस्था छ । पिडीतहरु अत्यन्तै आर्थिक संकटमा गुज्रिरहनु भएको कछ । जाजरकोट भेरी नगरपालिकाबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा जिल्ला अदालत जान ४० किलोमिटर दुरी रहेकोले अत्यन्त महंगो सावित हुन पुगेको छ ।
    यिनै पृष्ठभुमिमा हामी राष्ट्रिय कलाकार समुहले पिडीतहरुलाई साचो न्याय र आवश्यक पुर्नस्थापना, के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर ढंगले लिएका छौ । तत्काल राहत र दीर्घकालीन रुपमा उनीहरुलाई पुर्नस्थापना गर्नको लागि सहयोग संकलन गर्ने अभियानलाई अगाडी बढाउने निर्णय गरेका छौ । सहयोग संकलन राष्ट्रिय कलाकार समुहबाट रु १,११,००० अक्षरेपी एकलाख एघार हजार रुपैया सहयोग कोषमा जम्मा गर्ने हामीलाई माया गर्नु हुने देश भित्र र विदेशमा रहनु हुने आदरणीय दाजु भाई दिदी बहिनी तथा मान्यजनहरुमा स्वइच्छा पुर्वक सक्दो आर्थिक सहयोग पुर्याइ दिनु हुन यसै पत्रकार सम्मेलनद्धारा हार्दिक अनुरोध गर्दछौ ।
    हाम्रो अभियानलाई सफल बनाउनको लागि निम्न कार्यक्रमहरु संचालन गर्ने छौ ।
    १ पत्रकार सम्मेलन
    २ प्रधानमन्त्री ज्युलाई भेट
    ३ माईतिघर मण्डलामा सास्कृतिक कार्यक्रम
    अन्त्यमा पीडितहरुलाई विभिन्न अर्थिक प्याकेज सहितको न्याय र पीडकहरुलाई नेपालको प्रचलित कानून अनुसार हदै सम्मको सजाय दिलाउन सम्वन्धित सवैलाई पुनः अनुरोध गर्न चाहान्छौं ।

    ……………………….
    यश कुमार
    संयोजक,
    राष्ट्रिय कलाकार समूह

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु