१२ आषाढ ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवनबीमा गर्ने सम्वन्धमा हिजो महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच संस्थानको प्रधान कार्यालय रामशाह पथमा एक सम्झौता भएको छ ।
सो सम्झौतामा काठमाडौं महानगरपालिकाको तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गर्नु भएको थियो ।
सो हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिदै महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवनबीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गर्नु भयो । संस्थानको तर्फबाट नायवमहाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बिमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको उल्लेख गर्नु भएको थियो । हस्ताक्षर समापन कार्यक्रममा आफनो भनाई राख्दै संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो सम्झौतामा हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिकाका कानून विभाग प्रमुख बसन्त आचार्य र प्रशासन महाशाखा प्रमुख बखत साउद र राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।