• साउन ७ गतेसम्म लकडाउन निरन्तर रहने, अन्तर्राष्ट्रिय उडान र सीमा नाका पनि बन्द रहने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ असार २०७७, सोमबार २२:१३

    काठमाडौं–सरकारले आंशिकरूपमा खुकुलो बनाएको जारी लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको मन्त्रीपरिषदका एक सदस्यले जानकारी दिए ।

    यस्तै सरकारले सार्वजनिक ठाउँमा जाँदा एसएमएस विधिलाई अनिवार्य लागु गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले एस अर्थात सामाजिक दूरी, एम अर्थात् मास्क अनिवार्य र एस अर्थात् स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो ।पालना भएनभएको अनुगमन गर्ने जिम्मा सुरक्षा निकायलाई दिइएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । ‘मन्त्रिपरिषद्ले एसएमएस विधिलाई प्रभावकारीरूपमा लागु गर्ने निर्णय गरेको छ ।

    साथै लकडाउनलाई यही स्वरूपमा साउन ७ गतेसम्म कायम राख्ने, अन्तर्राष्ट्रिय उडान र सीमा नाका पनि साउन ७ गतेसम्म रोक्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।उनकाअनुसार संक्र्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा अहिलेकै स्वरूपलाई कायम राख्ने निर्णय भएको छ । जोखिम कम देखिएका जिल्ला, क्षेत्रमा क्रमशः खुकुलो बनाउँदै जाने र त्यसको जिम्मा स्थानीय तह र प्रदेशलाई दिने निर्णय गरेको छ । ‘स्थानीय तह, प्रदेशले जोखिमको अनुमान गरेर खुकुलो, कडा बनाउन सक्नेछन्, त्यसका लागि डीसीसीएमसी, पीसीसीएमसी र कोरोना सङ्कट व्यवस्थापन केन्द्र सीसीएमएसीसँग समन्वय गर्नुपर्नेछ,’ उनले भने । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

    सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।

    तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ । यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु