काठमाडौं । वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा प्रतिष्ठित व्यवसायीको छवि बनाएका मेनपावर व्यवसायी हेम गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्ने घोषणा गरेका छन् । एसओएस मेनपावरका सञ्चालक रहेका गुरुङलाई सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि नियुक्त गरेका थिए । तर, व्यवसायी गुरुङले मंगलबार मन्त्री यादवलाई पत्र पठाउँदै आफू बोर्ड सदस्यमा नबस्ने बताएका छन् ।
पत्रमा बोर्डमा रहेर आफ्नो योग्यता र दक्षता अनुसारको परिणाममुखी कार्य गर्ने मन हुँदाहुँदै पनि कोरोनाको कारण वैदेशिक रोजगार क्षेत्रमा देखिएको जटिलता र आफ्नो व्यक्तिगत अस्वस्थ्यताको कारण तत्काललाई बोर्ड सदस्यमा बस्न नसक्ने गुरुङले उल्लेख गरेका छन् ।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा क्रियाशिल रहेको र यसअघि बोर्ड सदस्य भएर काम गरेको अनुभव भएकाले मन्त्री यादवले आफूलाई फेरि बोर्ड सदस्यमा नियुक्ती गरेको भए पनि अहिले यो पद अस्वीकार गरेको गुरुङको भनाइ छ ।
गुरुङले लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यवसायिक हितमा कटिबद्ध भएर काम गरिरहेका छन् । वैदेशिक रोजगारको क्षेत्रमा राम्रो र व्यवसायिक व्यक्तिका रुपमा चिनिएका गुरुङले व्यवसायीहरुका पक्षमा धेरै काम गरेका छन् ।
उनले भनेका छन्–‘वोर्डमा बसेर विगत २ बर्ष काम गरेको अनुभवले थप काम गर्ने इच्छा हुँदा हुँदै पनि अहिलेको अवस्थामा वोर्ड सदस्य रहन असमर्थ छु ।’ वोर्ड सदस्यमा मनोनित भएको आधिकारिक जानकारी आइनसकेता पनि सञ्चारमाध्यममार्फत जानकारी पाएको गुरुङको भनाई छ । ‘वास्तविकता नबुझी भ्रामक तथा अनर्गल प्रचार हुन थालेपछि मलाई धेरै नमज्जा लागिरहेको छ’ उनले जनसवाल राष्ट्रिय दैनिकसँग भने–‘ सरकारलाई सहयोग गर्न मन हुँदाहुँदै पनि मलाई नराम्रोजस्तो बनाइयो, यो सैह्य भएन ।’
वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा गुरुङ अग्रज र सबैका प्रेरक व्यवसायीका रुपमा चिनिन्छन् । उनले संचालन गरेको मेनपावर सरकारद्धारा प्रदान गरिने सर्वोत्कृष्ट मेनपावरबाट पुरस्कृत हुने पहिलो मेनपावर हो ।
सबैभन्दा धेरै कामदार राम्रो रोजगार गन्तब्यमा पठाउने एसओएस मेनपावरको अहिले कुनै पनि उजुरी वैदेशिक रोजगार विभागमा नरहेको विभागले जनाएको छ । कतार भिसा सेन्टरको नाम जोडेर गुरुङलाई देखाइएता पनि उक्त व्यवस्था कतार सरकार आफ्नै रहेको यस अगाडि नै पुष्टि भइसकेको छ ।
गुरुङको मनोनयनले उत्साही भएका मेनपावर व्यवसायी अहिले उनको राजिनामाबाट निरुत्साहित भएका छन । यद्यपि उनले बाहिरनै रहेर भएपनि वोर्डको काममा सहयोग गर्ने बताएका छन् । यता श्रममन्त्री रामेश्वरराय यादवले गुरुङलाई राजिनामा नदिन आग्रह गरेका छन् ।