२०७ औं आदिकवि भानुजयन्ती (गद्य कविता)
सृष्टिका पहिला आदिकवि स्वयं ब्रह्मा हुन्
वैदिक युगका आदिकवि दैत्य गुरु शुक्राचार्य हुन्
संस्कृत साहित्यका आदिकवि वाल्मीकिमुनि हुन्
हिन्दी साहित्यका आदिकवि तुलसीदास हुन्
अङ्ग्रेजी साहित्यका आदिकवि चौसर हुन्
अनि नेपाली साहित्यका आदिकवि भानुभक्त हुन् ।
आदि + कवि मिलेर आदिकवि बनेको छ
आदिको अर्थ हो – प्रथम / पहिलो
कविको अर्थ हो – रचयिता / काव्यको रचनाकार
अनि कविताको अर्थ हो – मानव अनुभूतिका शब्दको सौन्दर्यलाई साहित्यिक छन्द र लयमा उनिएका माला ।
कविको कविकर्म यही हो र कविताको मूल मर्म पनि ।
अभिधाका अर्थमा भानुभक्त आदिकवि होइनन्
लक्षणका अर्थमा भानुभक्त आदिकवि हुन्
उनले नै अध्यात्म रामायणको भावानुवाद गरे
मर्यादा पुरुषोत्तम रामलाई भगवानका रूपमा चित्रण गरे
उनले नै भूमिकन्या सीतालाई आदर्श नारी माने
नेपाली साहित्यमा त्रिकोणात्मक प्रेमको उद्घाटन गरे ।
जेलमा बस्दा पनि रामायणको अयोध्या काण्ड
अरण्य काण्ड,किष्किन्धा काण्ड र सुन्दर काण्डको
पद्यानुभाव गरे
अनि नेपाली साहित्यको पहिलो महाकाव्य लेख्न पुगे
भक्तमाला´मा वैराग्यलाई पुष्टि गरे ईश्वरचिन्तन गरेर वधूशिक्षा´मा बुहारीलाई नेपाली मौलिक उपदेश दिए
गजाधरकी घरबूढीको चरित्र चित्रण गरे
नेपाली साहित्यमा छन्द परम्पराको आरम्भ गरे ।
आदिकवि भानुभक्तको दिशानिर्देशक नै घाँसी थियो
जसले भानुभक्तको जीवनलाई युटर्न गरायो
समय , घटना , प्रेरणा र परिवेश उसकै पक्षमा थियो जसले गर्दा हास्यव्यङ्ग्य विधामा पनि कलम चलायौ
कहिल्यै नमर्ने अजर र अमर `रामायण´को जन्म गर्यौ
त्यसैले सभ्य र भव्य रूपमा २०७ औं भानुजयन्ती मनाऔं ।
भानु तिमी भाषिक र सांस्कृतिक एकताका सूत्रधार हौ
भानु तिमी नेपाली भाषा तथा साहित्यका विभूति हौ
तिम्रो नेपाली भाषा र साहित्यप्रतिको मूल्याङ्कन र पुनर्मूल्याङ्कन
परीक्षण र पुनर्परीक्षण इतिहासले गरिरहनेछ , इतिहासले गरिरहनेछ,इतिहासले गरिरहनेछ ।
(रचनाकार लक्ष्मीप्रसाद ढकालभी एस् निकेतन माध्यमिक विद्यालय मीनभवनकाठमाडौँ प्राध्यापकका हुनुहुन्छ)