काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ ।
नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएसँगै गएको वर्ष फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति खुलेसँगै असार १८ गतेदेखि २३० महिला र २ हजार ७७ जना पुरुषले पुनः श्रम स्वीकृति लिएका छन् ।
अहिले पुनः श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै यूएई जान खोज्ने छन् । यूएई जानका लागि १२ दिनको अवधिमा मात्रै ९५४ पुरुष र १४७ महिला गरी ११ सय १ जनाले पुनः श्रम स्वीकृति लिइसकेका छन् ।
यसैगरी, कतार जानका लागि २९५ जनाले, मलेसियाका लागि २४२ जनाले, कुवेतका लागि ७५ जनाले, ओमानका लागि ३५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । बहराइनका लागि ३५ जना, अफगानिस्तानका लागि ५, ब्रुनाईका लागि २०, क्यानाडाका लागि १, चेक रिपब्लिकका लागि ५, फिनल्याण्डका लागि १, जर्मनीका लागि १, इजरायलका लागि १०, जापानका लागि ३०२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
यस्तै जोर्डनका लागि ५ जनाले, माल्दिभ्सका लागि १४ जनाले, माल्टाका लागि १६ जनाले, न्युजिल्याण्डका लागि ४ जनाले, पोल्याण्डका लागि २७ जनाले, कोरियाका लागि १६ जनाले, रोमानियाका लागि १०, सेसल्सका लागि ७ र अमेरिकाका लागि ६ जना गरी विभिन्न ३१ देशमा जानका लागि २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
भिसाको र करारको म्याद भएकालाई सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो ।