काठमाडौं, ५ साउन । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आएको छ। जसका कारण अब कम्तीमा तीन दिन देशभर व्यापक वर्षा जारी रहने अनुमान मौसमविद्ले गरेका छन्।
उसो त शनिबार रातिदेखि नै देशभर वर्षा भइरहेको छ। धेरैजसो स्थानमा हल्कादेखि मध्यम तथा कतिपय स्थानमा भारी वर्षासमेत भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले (सोमबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ। ‘प्रदेश २ का कतिपय स्थानमा त अहिले भारी वर्षासमेत भइरहेको छ,’ उनले भनिन्, ‘अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा जारी छ।’
उनका अनुसार न्यून चापीय रेखा नजिकिएपछि लगातार र भारी वर्षा हुने सम्भावना बढी हुन्छ। ‘मनसुनका बेला पानी त पर्छ नै,’ मौसमविद् बासीले भनिन्, ‘तर न्यून चापीय रेखा नजिकिएपछि लगातार र ठूलो वर्षा हुन्छ।’
उनका अनुसार शनिबार रातिदेखि नै देशका प्रायः स्थानमा निरन्तर वर्षा भइरहेको छ। ‘कहिले कम कहिले बढी, कहिले एकैछिन रोकिनु बेग्लै कुरा हो, तर वर्षा भइरहेको छ,’ उनले भनिन्, ‘अब कम्तीमा तीन दिन अलि सतर्क हुन जरुरी छ।’
यस विषयमा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायले केही दिनअघि नै सूचना जारी गरेर सचेत गराइसकेका छन्।