• गणतन्त्र

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार ०९:३४

    छन्द :- शार्दूलविक्रीडित

    देखिन्छन् नरझुन्ड आज जगमा श्रृङ्गारमा लत्पत
    छ्याँके दाग छ भित्र, बाहिर सबै चम्के भए धप्धप
    जिब्रोमा उपकारको महसरी वाणी खुलेको तर
    आफ्नाको दरबारका सनकमा पोल्ने अरुका घर।१।

    मान्छे घायल भै ढल्यो यदि भने हाँस्दा भए डाक्टर
    पैसा तिर्छ गरीबले तरपनी भोकै परे मास्टर
    भेटी मन्दिरका पचाउछ सधैं मोटा पुजारी हुने
    व्याधीको निहुँमा डकार छलिको सोझो हमेसा रुने।२।

    सन्यासी पदमा पुगेर ढुकुटी भर्दा भए स्वर्णले
    हत्यारा मठमा पसेर सुकुटी लुछ्दा भए गर्वले
    आमाको फरिया लिलाम हुनगो छोरो दलाली हुँदा
    बेच्दै आँसु कमाउने सब यहाँ नाङ्गा र भोका रुँदा।३।

    आयो कम्प भयो विनाश मनुवा बेहाल भै तड्पिए
    थाप्दै राहतको कमण्डलु ठुला “च्याम्रे”हरू चम्किए
    जस्ता पाल तथा दबाइ लगिए चेला भए मालिक
    कोरोना लुटमा कमाउन सबै ज्यूँदा भए सालिक।४।

    धर्तीमा जलमा र वायु नभमा हावा तथा घाममा
    सीताराम र बुद्ध नानक सगै अल्लाहको नाममा
    जालीको बल धाकको कहरले ढाक्दै र छोप्दै गयो
    मान्छे नै किन लत्रिदै चरणको दासत्व मान्ने भयो।५।

    शम्भु गजुरेल
    नुवाकोट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु