• श्रीराम मन्दिर निर्माण कार्यको उद्घाटनलाई उत्सवको रुपमा मनाउन आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १६:१७

    साउन २०, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले अयोध्यामा श्रीराम मन्दिर निर्माण कार्यको शुभारम्भलाई उत्सवको रुपमा मनाउने भएको छ । भोली भारतको अयोध्यामा प्रधानमन्त्री मोदीले भव्य राम मन्दिर निर्माणको उद्घाटन गर्दै छन् ।
    नेपालको विभूती माता सीताको घर अयोध्यामा निर्माण हुने गौरवको क्षणलाई विश्व हिन्दू परिषद् नेपालले उत्सवको रुपमा मनाउने निश्चय गरेको जारी विज्ञप्तिमा जनाईएको छ । परिषद्ले भोली घरघरमा हर्षोसल्लाहको साथ दीप प्रज्वलन गर्न सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
    परिषद्का अध्यक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहको संयुक्त हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘श्रीराम जन्मभूमि अयोध्यामा अवस्थित श्रीराम मन्दिरलाई इस्वी सन् १५२८ मा विधर्मी आक्रमणकारीद्धारा तोडिएको थियो । त्यसपछि लगातार ४९२ वर्षको संघर्षको प्रतिफल, अयोध्यामा पुनः श्रीराम मन्दिर निर्माण हुनु सम्पूर्ण सनातनी हिन्दूहरुको लागि गौरवपूर्ण क्षण रहेको छ । आज हाम्री विभूति सीता माताको घर निर्माण हुने गौरवपूर्ण क्षण आइपुगेको छ । श्रावण २१ गते अयोध्यामा भव्य श्रीराम मन्दिर निर्माण कार्यको शुभारम्भ हुँदैछ । त्यस विशेष दिनलाई विश्व हिन्दू परिषद्, नेपालले उत्सवको रुपमा मनाउने निश्चय गरेको छ । कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै उक्त दिन स्थानीयस्तरमै निम्न कार्यक्रमहरु गरी उत्सव मनाउन सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीलाई हार्दिक अनुरोध गर्दछौं ।’
    इस्वी सन् १५२८ मा मुश्लिम आक्रान्ताहरुले भगवान राम मन्दिर तोडेर मस्जिद बनाए पछि लगातार ४९२ वर्षको संघर्ष पछि गत नोभेम्बरमा भारतीय सर्वोच्च अदालतका पाँचजना न्यायाधीशहरूको इजलासले विवादित भूमि भगवान रामको जन्मभूमी भएको ऐतिहासिक फैसला गरेको थियो । यसअघि भारतीय पुरातत्व सर्वेक्षणको एउटा प्रतिवेदनले राम मन्दिरको अवशेष भत्काइएको बाबरी मस्जिदमुनि भेटिएको बताएको छ ।
    विश्व हिन्दू परिषद् नेपालले भोली साउन २१ गते पशुपति मन्दिर परिसरमा रहेको शंकराचार्यमठमा दीप प्रज्वलन कार्यक्रम गर्नेछ । दीप प्रज्वलन कार्यक्रम भोली साँझ ६ः३० बजे प्रारम्भ हुनेछ । सो कार्यक्रममा सहभागि हुन समेत परिषद्ले आग्रह गरेको छ ।
    भोली देशभरि रहेका २८६३ भजन मण्डलीहरुसँगको समन्वयमा ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रीराम स्तुति (भजन—कीर्तन) गर्ने समेत परिषद्ले जनाएको छ ।
    यसैगरी सामाजिक दुरी कायम गर्दै स्थानीय प्रशासनको अनुमतिमा शोभा यात्रा गर्न समेत परिषद्ले
    धार्मिकजनहरुलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु