• पुनः यातायात र हवाई उडानमा भदौ १५ गतेसम्मकाे लागि रोक, नाकामा कडाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ०६:५६

    काठमाडौं–सरकारले कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढेको भन्दै भएसँगै अन्तर जिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले पनि यातायात रोक्न माग गरेका थिए । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय भएको छ ।

    भदौ एक गते देखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको हो । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ ।

    बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

    बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ । तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय पनि भएको छ ।

    Source: Janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु