• अन्तराष्ट्रिय स्तरको वेभिनारको आयोजना हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार २१:४६

    काठमाडौं, २८ साउन । नेपालको शहरी र ग्रामीण क्षेत्रमा देखिएको पानीको संकटलाई समाधान गर्न सघाउने उद्देश्यले स्मार्ट वास सोलुसन्सले साउन २९ र ३० गते एक अन्तराष्ट्रिय स्तरको वेभिनारको आयोजना गर्ने भएको छ ।

    स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले यस वेबिनारमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलायन्स जेनेभाका अध्यक्ष श्री हान हेइज्नान, भारतको तामिलनाडु राज्यको रेन सेन्टरका निर्देशक डा.शेखर राघवन, लंका रेनवाटर हार्भेष्टिड.फोरम श्रीलंकाका प्रमुख कार्यकारी अधिकृत तनुजा अरियानन्दन,वाटर एड यूकेका अर्बन वास एड्भाइजर ई. पुनित कुमार श्रीवास्तवको मुख्य प्रस्तुति रहने जानकारी दिनुभएको छ ।

    त्यस्तै नेपालको अवस्थाका बारेमा काठमाडौ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष ई. सरोज बस्नेतको प्रस्तुति रहनेछ भने सम्मेलनमा पूर्वसचिव द्वय किशोर थापा र सुमन शर्माले टिप्पणी गर्नुहुनेछ ।

    एसएनभी नेपालको क्याप्टेन आउटडोरको सहयोगमा स्मार्ट वास सोलुसन्सद्धारा आयोजित यस वेबिनारको सञ्चालन सहजीकरण पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ई. गणेश साहले गर्नुहुनेछ ।

    दिउँसो २ बजेदेखि ४ : ३० सम्म चल्ने सो दुई दिवसीय सम्मेलनमा भारतको तामिलनाडु राज्यका रेन सेन्टरका निर्देशक डा.शेखर राघवनले बर्षातको पानी संकलनःआवश्यकता,औचित्य र महत्वका बारेमा, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौं पुनर्भरण : काठमाडौं महानगरपालिकाको पहल शीर्षकमा, श्रीलंका बर्षातको पानी व्यवस्थापन मञ्चका प्रमुख कार्यकारी अधिकृत डा. तनुजा अरियानन्दले श्रीलंकामा बर्षातको पानी संकलन नीति र यसको प्रभाव विषयमा कार्यपत्र सहितको प्रस्तुति गर्नुहुनेछ । कार्यपत्र प्रस्तोताहरुको कार्यपत्रमाथि पूर्व सचिव ई.आ. किशोर थापाले टिप्पणी गर्नु हुनेछ ।

    दोस्रो दिन इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलायन्स, जेनेभाका अध्यक्ष हान हाइजनेनले सहरमा वर्षातको व्यवस्थापन : घरपरिवार,सस्था र नगरपालिकाहरुको भूमिका शीर्षकमा, वाटर एड यु.के का सहरी खानेपानी,स्वास्थ्य तथा सरसफाई सल्लाहकार ई.पुनितकुमार श्रीवास्तवले “भारतमा बर्षातको पानी संकलन र भूमिगत पानी पुनर्भरणका लागि जिल्लाव्यापी तहमा आमनागरिक परिचालन. बान्दाको सिकाई” शीर्षकमा र क्याप्टेन आउडडोर प्रा.लिका संस्थापक अनिल थमनले “कोरोना भाइरस संक्रमणको समय र त्यसपछि खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा भएको नवप्रवर्तन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

    यी कार्यपत्रमाथि पूर्व सचिव ई. सुमन शर्माले टिप्पणी गर्नुहुनेछ ।

    सम्मेलनका दुवै दिन सहभागीहरुलाई प्रश्न सोध्ने मौका दिइनेछ ।

    स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले यो अन्तर्राष्ट्रिय वेबिनार नेपालका सहरी र ग्रामीण दुवै क्षेत्रमा बर्षातको पानी संकलन,प्रशोधन र बहुपयोगका बारेमा ज्ञान, अभ्यास र प्रविधिका बारेमा जानकारी लिन चाहनेका लागि निकै उपयोगी हुने बताउनुभएको छ ।

    सम्मेलनको पूर्व सन्ध्यामा एक प्रेस नोट जारी गर्दै स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले नेपालमा बर्षातको पानी संकलन र उपयोग गर्ने मौलिक परम्परा र अभ्यास भए पनि त्यस्ता ज्ञान र अभ्यासको संरक्षण नभएकोले अहिले ग्रामीण र सहरी दुवै क्षेत्रमा सतही र भूमिगत पानीको अभाव हुँदै बताउनुभएको छ । उहाँले प्रेस नोटमा भन्नुभएको छ, “प्राकृतिक मूलमा आधारित सतहको पानी र भूमिगत पानी दुवै सुक्दै गएको अवस्थामा हाम्रा शहर,बजार र गाँउ घरमा पिउन तथा अन्य दैनिक घरेलु उपयोगको लागि पानीको जोही गर्ने सम्बन्धमा बर्षातको पानीको उपयोग हाम्रो सामु भरपर्दो विकल्पको रुपमा आएको छ । ”

    उहाँले बर्षातको पानी संकलन र व्यवस्थापनलाई अझ बढी वैज्ञानिक बनाउदै सुरक्षित र पिउन योग्य बनाएर हाम्रो जीवनलाई अझ सहज बनाउने, पोखरी, तलाउ,नालाहरु बनाएर जमिनमुनिको पानीको पुनर्भरण गर्ने, पहिरो र बाढी जन्य प्राकृतिक विपत्ती रोक्ने र दिगो कृषिलाई पनि सघाउने कार्यमा हाम्रा ज्ञान,सीप,अनुभवहरुकोे साझेदारी गर्ने र विश्वका असल अभ्यासहरुबाट ज्ञान लिई अति आवश्यकतामा परेका नेपालीहरुलाई लाभ पुर्याउने उद्देश्यले आयोजना गरिएको वेबिनारमा सहभागी हुन इच्छुक सबैलाई आग्रह पनि गर्नुभएको छ ।

    खानेपानी तथा पानी व्यवस्थापनका क्षेत्रमा उपलब्ध मौलिक ज्ञान,सीप र प्रविधिको संरक्षण तथा विश्वमा विकसित नयाँ ज्ञान, सीप र प्रविधिको उपयोगितालाई प्रबर्धन गर्दै आम नेपाली जनतालाई सहज रुपमा,सस्तोमा गुणस्तरीय सुरक्षित पिउने पानी उपलब्ध गराउने, पानीका स्रोत संरक्षण र व्यवस्थापन गर्ने ,शहरी ढलको व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्सको स्थापना भएको हो ।

    स्थापनाको छोटो अवधिमा नै यसले गत बर्ष जुलाई २७ र २८ मा काठमाडौंमा बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी एक राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । बर्षातको पानी संकलनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने अभिप्रायले आयोजित उक्त सम्मेलन निकै उपयागी सावित भएको थियो ।

    विश्वमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएर नेपालमा लकडाउन सुरु भएपछि हातको सरसफाई र खानेपानीको गुणस्तर तथा उपलब्धताको बारेमा विज्ञहरु,नीति निर्माता, अभ्यासकर्ता, अध्येता र आम उपभोक्तालाई सजग र सचेत गराउन स्मार्ट वास सोलुसन्सले यस क्षेत्रका नीति निर्माता, वैज्ञानिक, विज्ञ, प्राज्ञ, प्राविधिक तथा प्रशासनिक कर्मचारी, उपभोक्ता,सञ्चारकर्मी र स्थानीय तहका पदाधिकारीहरुको सहभागितामा केन्द्र र प्रदेश स्तरमा १८ विभिन्न विषयमा वेबिनार आयोजना गरेको थियो ।

    स्मार्ट वासको वेबिनारका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन तथा आइसोलेश कक्षहरु व्यवस्थित गर्न धेरै सहज हुन गएको दावी पनि सो संस्थाले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु