• १० वर्षपछि मणिग्राम–मोतिपुर जोड्ने पुल निर्माण सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १२:०८

    रुपन्देही-रुपन्देहीको मणिग्रामदेखि मोतिपुर जोड्ने पक्की पुलको निर्माण १० वर्षपछि पुनः सुरु गरिएको छ । लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो । बुद्धस्थललाई जोड्ने गरी देवदहदेखि लुम्बिनीसम्म ४२ किलोमिटरको लुम्बिनी परिक्रमा अन्तर्गतको सडक ढिला गरेर भए पनि सम्पन्न भएको छ । तर यो सडकमा पर्ने पुल निर्माण बल्ल सुरु भएको छ । पुलको वैकल्पिक डिजाइन सम्पन्न भएसँगै निर्माण कम्पनीले काम सुरु गरेको हो ।दुई वर्षदेखि ठप्प भएको निर्माणको काम वैकल्पिक डिजाइन स्वीकृत भएपछि मंगलबारदेखि सुरु भएको साइट इञ्जिनियर दुर्गा गौतमले बताए । पुलको पाँच भागमध्ये दुई भाग ढलान भइसकेको छ । बाँकी तीन भागको पिल्लर र ढलान कार्य आगामी असारसम्म सम्पन्न हुने गरी काम सुरु गरिएको हो ।

    पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिए पनि पटकपटक थप गरी २०७२ असार २५ सम्म पुर्‍याइएको थियो । त्यस यता म्याद थप स्वीकृत नभए पनि केही काम भइरहेको थियो । गत असारमा नयाँ डिजाईन स्वीकृत र भेरिएशन भएपछि निर्माणको म्याद आगामी फागुनसम्म पु¥याइएको छ । पुलको तीनवटा पिल्लर राख्ने क्रममा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको थियो । डिभिजन सडक कार्यालय बुटवलका इञ्जिनियर दुर्गा गौतमले परामर्शदाताले पुलको गलत डिजाइन गर्दा समस्या भएको बताए । ‘फागुनसम्म निर्माण सक्न गाह्रो छ, तर यही आर्थिक वर्षभित्र काम सम्पन्न हुन्छ’–उनले भने ।‘काम गर्ने क्रममा जमिन मुनिको ढुंगा माटोको प्रकृति पुलको डिजाइनभन्दा फरक पाइयो । पिल्लर चाहिने जति गहिराइमा जान सकेन’–गौतमले भने– ‘जसका कारण डिजाइन नै परिवर्तन गरी काम सुरु गर्नुपर्दा ढिलाई हुन गयो । निर्माण कम्पनीमार्फत अर्को परामर्शदाताबाट अध्ययन गराउँदा डिजाइन फरक भएको पाइएको थियो ।

    ‘डिजाइन फरक भएपछि त्यसलाई परीक्षण गर्न सडक विभागले पुलचोक इञ्जिनियरिङ कलेजसँग मद्दत माग्यो । इञ्जिनियरिङ कलेजबाट विज्ञ टोली आएर जमिनको एक्स–रे जसरी अनुसन्धान गर्दा ८/९ मिटरको गहिराइमा चट्टान रहेको देखियो’–उनले भने ।चट्टानको कारण बाँकी तीनवटा पिल्लर राख्न नसक्दा ढिलाई भएको पुल निर्माणको काम अव भने पूरा हुने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । इञ्जिनियरिङ क्याम्पसको टोलीले तयार गरेको नयाँ डिजाइन स्वीकृत भएपछि काम थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इञ्जिनियर मेघराज मरासिनीले बताए । ‘नयाँ डिजाइन विभागले अध्ययन गरी स्वीकृत गरेसँगै काम अगाडि बढाइएको हो, आगामी वर्षको असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ’–उनले भने ।यसबीचमा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद विष्णु पौडेलले तत्काल नयाँ डिजाईन स्वीकृत गरी काम अगाडि बढाउन मातहतका निकायको ध्यानाकर्षण गराएका थिए ।

    “नागरिकको व्यग्र प्रतीक्षापछि काम सुरु भएको छ, यसमा नागरिकस्तरबाट अनुगमन र खबरदारी जरुरी छ, सरकारले अव यसका लागि बजेट अभाव हुन दिंदैन,‘–उनले भने ।नयाँ डिजाइन अनुसार पाइल सिष्टमबाट पिल्लर तयार गरिने मरासिनीले बताए ।पुलको सुरुको डिजाइन नर्थ स्टार इञ्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि. र फिडाले संयुक्त रूपमा गरेका थिए । गलत डिजाइन बनाउने परामर्शदातालाई कारवाही भने भएको छैन । डिजाइनपछि पुल निर्माणको लागि एलीट कन्स्ट्रक्सनसँग १० करोड ३७ लाख ९५ हजारमा ठेक्का सम्झौता भएको हो । पुल नबन्दा हिउँदमा खोलाबाटै सवारी ओहोरदोहोर गर्छन् । तर वर्षातमा भने सडक बन्द नै हुन्छ । पुल निर्माण सम्पन्न भएपछि लुम्बिनी परिक्रमामार्फत बुद्धको मावली देवदह र जन्मस्थललाई जोड्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु