• मानस राजको फरक शैलीको गीत ‘उठ्न देउ…’ (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १९:३६

    काठमाडौँ, ९ भदौ। गायक मानस राजले यसअघि चर्चा कमाएका भन्दा फरक धारको ‘उठ्न देउ…’बोलको गीत सार्वजनिक गरेका छन् ।

    उनले मंगलबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा संगीत र स्वर गायक मानस राजकै छ । गीतका शब्द भने मनिष वशिष्ठका रहेका छन् । मानस राजको निक्कै मिठो स्वरमा उत्कृष्ठ शब्दले गीत कर्णप्रिय बनेको छ भन्दा फरक नपर्ला ।

    गीतको अर्को पाटो म्यूजिक भिडियो निक्कै सशक्त बनेको छ । गायक मानस राजले भनेको ‘फरक काम’ को प्रयास भिडियोमा देखिन्छ । म्यूजिक भिडियोमा मुख्य भूमिकाको रुपमा सञ्जुबाबा देखिएका छन् । उनको अभिनय विशेष छ । संगीता थापा, बालकलाकार क्रिभिषेश खड्का लगायतको अभिनय पनि यो गीतमा देख्न सकिन्छ । कथाको कन्सेप्ट र निर्देशन गायक स्वयम्ले गरेका छन् । भिडियोलाई रिक्की कर्माचार्यले खिच्ने र सम्पादन गर्ने जिम्मेवारी लिएका छन् ।

    सञ्जुबाबाले गीतका शब्दअनुसारको भूमिका निर्वाह गर्न सकेका छन् । पेशागत समस्याले सिर्जना गरेको व्यवहारिक कठिनाइ र त्यसपछि तहसनहस बनेको जीवन कसरी फेरि उठाउन सकिन्छ भन्ने कुरा भिडियोमा देखाइएको छ । व्यवहारिक समस्यापछि व्यक्ति कुलतमा फस्न सक्छ र उसको चेत खुलेपछि पुनः सामान्य जीवनमा आउनसक्छ भन्ने सन्देश यो भिडियोले दिएको छ ।

    म्यूजिक भिडियोले गीतका शब्द, सञ्जुबाबा र उनको अभिनयलाई जीवन्तता दिएको छ । यो भिडियोको क्यारेक्टर रियल भएको गायक मानस राज बताउँछन् ।
    गायक मानस राज भन्छन्, ‘आज भन्दा करिब १५ महिना अगाडि सामाजिक संजालमा सञ्जुबाबा ह्युमेनिटीज्युलाई देखेपछि यो गीतको भिडियो बनाउन मन उत्साहित भएर आएको थियो । उता सञ्जु बाबा सुध्रिदै थिए, यता म भने एक वास्तविक चरित्रको माध्यमबाट एउटा सन्देशमूलक भिडियो बनाउन बेचैन हुँदै थिए ।’ जति बेला सञ्जुबाबालाई देखे त्यतिबेलै भिडियो बनाउने उनको सपना कारणवस सम्भव भएन । अहिले भिडियो बनाउने बेला सोचेको र खोजेको क्यारेक्टर उपलब्ध थिएन । सञ्जुबाबा मनमा गढेका थिए, त्यसैले उनैलाई खोजे । मानस राज भन्छन्, ‘नेपाल चित्रका किरण पौडेल सरमार्फत सञ्जुबाबाको सम्पर्कमा पुगेर प्रस्ताब राखेँ । उहाँ पनि सहमत हुनु भयो ।’ यही भिडियोमार्फत एउटा सशक्त अभिनेताको रूपमा सञ्जुबाबा धेरै अगाडि बढ्न सक्ने आशा एवम् विश्वास राखेको पनि उनी बताउँछन् । अनि उनले एक स्टाटसमा ‘मेरो एउटै विश्वास छ सहि कामको सुरूवात जुनसुकै बेला पनि हुन सक्छ’ भनेजस्तो उनको फरक धारको गीत र म्यूजिक भिडियो बनाउने काम सञ्जुबाबाबाटै सुरु भयो ।
    यसअघि मानस राजका अलि मनोरञ्जनपूर्ण गीतले नै धेरै चर्चा पाएका थिए । ‘भाइरल भइदियो…’ बोलको गीतले त उनलाई सुपरहिट नै बनाइदियो । त्यसले उनलाई भाइरल गायकको रुपमा परिचय दिएको थियो । अहिले आएर एउटा सन्देशमूलक र आशा जगाउने गीत कसरी तयार भयो भन्ने प्रश्नमा गायक मानस राज भन्छन्, ‘लगभग साढे दुई वर्ष अगाडि कुरै कुरामा मनिष वशिष्ठ दाजुसँग एउटा गीत गरौं त भन्ने प्रसंग उप्किएको थियो र दाजुले केही रचनाहरू जिम्मा लगाउनु भएको थियो ।’ ती रचनाहरुमध्येबाट उत्कृष्ट रचना छानेर उनले आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म कम्पोज गरेर एरेन्जमेन्ट पनि गराए । भाईरल भैदियो कै टिमसँग भिडियो बनाउने तयारी पनि सुरू भइसकेको थियो । तर एरेन्जमेन्टको फाईल नदिईकन एरेन्जर बेपत्ता भइदिए । जसले गर्दा त्यतिबेलै भिडियो बनाउने तयारी त्यतिकै तुहियो ।
    उनको निरन्तर प्रयास र लगनबाट तयार भयो ‘उठ्न देउ.. । फरक गीत गरेको बताउने गायक मानस राज भन्छन्,‘यो गीत अब दर्शक र स्रोताका लागि उनले सुम्पिएको छु, मन पराउने वा नपराउने हजुरहरुकै जिम्मा…।’

    भिडियो हेर्नुहोस्ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु