• अधिकारी को संयोजनमा अपाङ्ग आश्रमलाई बोधिसत्व विहारको सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ०८:५८

    काठमाडौं ।गन्तव्य नेपालको संयोजनमा बोधिसत्व विहारले काठमाडौंको गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवास केन्द्रलाई नगदसहित खाद्यसामग्री सहयोग गरेको छ ।
    बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, विहारअन्तर्गत ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्मा र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अविरल सहितको टोलीले आज गोकर्ण पुगेर केन्द्रलाई सहयोग स्वरूप नगद रु ५० हजारका साथ १७५ किलो चामल, २१ किलो दाल, २१ किलो गेडागुडी, २१ किलो पिठो, १४ लिटर तेल, २ किलो मसला र २ लिटर स्यानिटाइजर प्रदान गरेको हो । योसँगै टोलीले निषेधाज्ञा अवधिभर संस्थालाई आवश्यक पर्ने खाद्यान्न सहयाेग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।


    पहलकर्ता गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी अधिकारीले आफ्नो पहलमा गत साता पुरानो गुह्येश्वरीस्थित इप्सा नेपाललाई नगद, खाद्यान्न र ट्वाइलेट बाथरुम निर्माण गरिदिनेसम्मको सहयोग गरेको स्मरण गर्दै अपाङ्गहरूको सेवामा निरन्तर सहयोग जारी राख्ने बताए ।
    बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएलगत्तै ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरेको बोधिसत्व विहारले अहिलेसम्म ७ लाखभन्दा बढीलाई नि:शुल्क खाना खुवाइसकेको छ । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।
    खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको छ । विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र, क्वारेन्टिन स्थल, सुरक्षा चौकी, कारागार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बोधिसत्वले स्वास्थ्य सामग्री पुर्याएको छ भने पत्रकारहरूलाई पिपिई, प्रेस ज्याकेटसहित सुरक्षा सामग्री वितरण गरेको छ ।
    पछिल्लो समय अपाङ्गता भएका विभिन्न संस्थामा रहेका १५० जनालाई खाद्य सामग्री सहयोग गरेको विहारले अझै त्यस्ता १ हजार जनालाई सहयोग गर्ने तयारी गरेको ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक समाजसेवी शान्त शर्माले बताएका छन् । यसका अतिरिक्त देशभर बाढी पहिरोको मारमा परेका समुदायको सहयोगमा आफूहरूको ध्यान गएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु