• कोरोना कहर : हरेक क्षेत्रमा अबको सम्भावना, पुराना विस्थापित ,नयाँ अनुहारको आगमन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १४:३९

    काठमाडौं ।विश्वभरका मानव अहिले कसरी कोरोना भाइरसबाट आफ्नो रक्षा गर्न सकिन्छ भनेर लागि परिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९)
    महामारीबाट बच्न संसारभरका सरकार समेत हर प्रकारले लागि परेका छन्। नेपालमा पनि कोरोना भाइरस नियन्त्रणका लागि आम जनता हरतवरले यसबाट बच्न निरन्तर लागिपरेका छन् ।

    कोभिड – १९ संक्रमण नफैलियोस् भनेर संसारभर गरे जस्तै नेपालले पनि लकडाउनका साथ साथै आवश्यक ठाउँमा निषेधाज्ञा जारी गरेको छ । लकडाउन घोषणा भएको यत्रो ६ महिनाभन्दा बढि भइसक्दा पनि यसको कन्ट्रोल हुने कुनै लक्षण नदेखिनु चाहिँ दु:खद कुरा हो । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सबै किसिमका गतिविधि ठप्प छन् । लामो समयको लकडाउनका कारण व्यापार, व्यवसायदेखि सबै सामाजिक, आर्थिक, धार्मिकलगायतका गतिवधि शुन्य प्राय छन् । जसले गर्दा विशेष गरि निम्न र मध्यम वर्गीय नागरिक हरेक कुराको अभावमा परेका छन् । खानपानको व्यवस्था नहुँदा उनीहरुमा मानसिक र शारिरिक रुपमा समस्या उत्पन्न हुन थालेकोछ भने उद्योग व्यवसाय बन्द हुँदा आर्थिक गतिविधि चौपट भएको छ ।
    लामो समयदेखि लकडाउनका कारण सबै खाले आर्थिक कारोबार बन्द हुनका साथै कुनै पनि गतिविधि हुन सकेको छैन भन्ने कुराको अवगत हुँदा हुँदै पनि दैनिक हुने खर्च र अन्य अति आवश्यक गतिविधि भने ठप्प हुन नसक्दोरहेछ । त्यसैले सरकारी ढुकुटीदेखि आम मानिसको गोजि रित्तिँदै गएको छ । महामारीका कारण देशमा अनावश्यक रुपमा दैनिक करोडौं रुपैया खर्च भैरहेको छ । सरकार अभिभावक भएको नाताले आफुसँग भए पनि नभए आम जनताको आशा पूरा गर्नु दायित्व हो । विश्वभरका देशहरुले जनताका समस्या बुझेर जनताको हित हुने कार्यक्रम ल्याइरहँदा नेपालले भने जनता लक्षित कार्यक्रम खासै ल्याएको जस्तै लाग्दैन । जबसम्म आम जनताले अनुभूत गर्न सक्ने खालका कार्यक्रमहरु देखिदैनन् अन्य जति जे गरे पनि त्यसबाट सरकारले कहिल्यै जस पाउन सक्दैन । सरकारले लकडाउनकै बेला नागरिकलाई सबै कर तिर्न सूचना जारी गर्ने, बैंकमा किस्ता तिर्न उर्दी लगाउने, उद्योग, कलकारखानाका कामदारलाई आम्दानी बिना नै तलबभत्ता दिनु भन्ने जस्ता उर्दी लगाउनाले जनताको नजरमा सरकार गिरेको अनुभुति भैरहेको छ। अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा र अन्य हरेक फोरममा हरेक पटक लकडाउनका कारण मर्कामा परेकाहरुलाई राहत हुने गरी बजेट ल्याएको दाबी गरिरहे पनि त्यस्तो खासै मनन गर्न मिल्ने खालका कुनै कार्यक्रम नदेखिनाले जनताको सरकार प्रति दिन प्रतिदिन विश्वास गुम्दै गैरहेको छ । २०७७ साल जेठ २० गते अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गरि जेठ २५ गतेभित्रै सबै खाले कर दाखिला गर्न आह्वान गरेको थियो । आम जनताको बिरोध आएपछि त्यो निर्णय फिर्ता भयो । लकडाउनले सबै उद्योग व्यवसाय बन्द छन् । आर्थिक कारोबार ठप्प छ । आम्दानी कतै छैन भने खर्च दैनिक बढ्दो छ। मानिसले काम पाएका छैनन् र कतैबाट आम्दानीको श्रोत पनि छैन । आम सर्वसाधारण जनता भोकभोकै मर्नुपर्ने अवस्था उत्पन्न भएको छ । तर सरकारले रातह दिनुको सट्टा आम जनतालाई कर बुझाउन निर्देशन दिएर कोरोना महामारीका बेला ठुलो आहत दिएको अनुभुती भैरहेको बेला फेरि विभिन्न ठाउँमा भष्टचार भएका कुरा बाहिर आउँदा आम मानिसलाई सरकार प्रति झन नकारात्मक भावना आउन थालेको छ । सरकारले जनतालाई कर तिर्ने समय तोकेको कुराले अब सरकारबाट केही हुन्न भन्ने स्पष्ट भएको छ । लकडाउनको अवधि बढेको बढै छ, बुझाउनु पर्ने मूल्य अभिवृद्धिकर, भ्याट, अन्तः शुल्कलगायतका सम्पूर्ण कर, तलब, भत्ता, घरभाडा तत्काल बुझाउन नपरेपनि खुल्ना साथ बुझाउनु पर्ने चिन्ताले आम जनता पिरोलिन थालेका छन् । सरकारले यस्तो बेला थोरै भए पनि अफ्ट्यारो परिस्थितिमा कतै न कतैबाट केही न केही राहत हुने खालको राहत घोषणा गरिदिएको भए थोरै भए पनि दुखेको घाउमा मलम पट्टि हुने थियो । यसले आम मानिसमा हौसलाका साथै सरकार प्रति सकारात्मक सन्देश जान्थ्यो । अहिले कतिपय उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट आदिमा हालसम्मको खर्च हिसाब गर्दा लगानीभन्दा धेरै तिर्न पर्ने दायित्व भैसकेको छ। अब त्यस्ता खालका उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक संस्था होटल, रेष्टुरेन्ट संचालन पुजीको अभावमा बन्द हुने निश्चित प्रायः छ । कति व्यवसायमा पार्टनरसीप हुन्छ र अब नोक्सानीका कारण कसले थप लगानी लाउने भन्ने कुरा नमिल्दा झैझगडा भैइ धेरै उद्योग धन्दा बेच्नुपर्ने हुन सक्छ । विषेश गरि जुन जुन व्यवसाय लामो समयसम्म बन्द भए जस्तै: स्कुल, होटल , पार्टी प्यालेस, रेष्टुरेन्ट, यातायात, आदिमा अब नयाँ अनुहारका लगानी कर्ता भित्रिने छन् । अब प्रत्येक व्यवसायमा यसरी नयाँ अनुहारको आगमन हुने निश्चित नै छ । नयाँलाई आएर संचालन गर्न सजिलो हुन्छ भने पुरानोलाई अब तेति नै गार्हो छ । अर्को कुरा जुन व्यवसाय यो लकडाउनमा अति आवश्यक भनी संचालन भए त्यस्ता व्यवसायमा भने अरु थप लगानी भैइ नयाँ नयाँ उद्योग व्यवसाय आउन सक्ने सम्भावना अत्यन्त बढि छ । संचालनमा भएका जति पनि उद्योग झन् ती आधा क्षमता चलिरहेका छन् भने अब थप नयाँ आउँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढी हुन गैई भएका र नयाँ आउने दुबै व्यवसायलाई अफ्ट्यारो हुन सक्छ । त्यसैले अब राज्यले थप उद्योग, व्यवसाय, कलकारखाना वा अरु कुनै केही नयाँ स्थापना हुन लाग्दा यहाँको बजार, जनसंख्या, भएकाको वर्तमान अवस्था अनि आवश्यक हो कि होइन भन्ने कुराको राम्रोसँग अध्ययन गरेर मात्र अनुमती दिनुपर्ने हुन्छ । नत्र भने भएका पनि नचल्ने र नयाँ पनि नचल्ने हुन गैइ ठूलो समस्या उत्पन्न हुन जान्छ ।

    यत्रो समय देखि सबै गतिविधि ठप्प भएका बेला आम जनतालाई ठूलो समस्या उत्पन्न भएको छ । जनतालाई राहत दिनु पर्ने समयमा कर्मचारीदेखि मन्त्रीसम्मबाट भष्टचार भएको कुरा बहिर आइरहँदा सरकारको व्यापक आलोचना भइरहेको छ। यस्तो अफ्ट्यारो अवस्था कोरोनाको महामारीमा आफ्नो ज्यान जोगाउन सबै किसिमका काम छाडेर सरकारको निर्देशन पालना गर्दै घरमै बन्दी बनेका जनतालाई यस्तो कुरा सुन्दा अत्यन्तै अव्यवहारिक र जनता प्रतिको कुनै दाहित्व बहन नगर्ने जनता बिरोधि सरकार भन्नु पर्ने अवस्था सृजना हुनु भनेको राम्रो संकेत होइन । यसले भविष्यमा पक्कै पनि ठूलो नोक्सान पुर्याउने छ । यस प्रति सरकार बेलैमा सचेत बनी अगाडि बढ्नु राम्रो हुनेछ । देशमा अहिले भएको असहज अवस्थाको बारेमा काेही पनि जानकार नरहेको होइन। तर जानकार रहेर पनि कसैले केही गर्न सक्ने अवस्था नै रहेन । यस्तो अवस्थामा हामीले वर्तमान समस्याका साथै पछि हुन सक्ने सम्भावित समस्याका बारे सोचेर सकेसम्म सावधानी अपनाउँदै अगाडि बढ्नु पर्छ । अब यो समस्याबाट मुक्त भएर पनि हामी कहाँ मुख्य चुनौतिको रुपमा बेरोजगारी समस्या सृजना हुनेछ । अहिले हजारौं व्यवसाय बन्द भएका छन् र ती कति त पुनः संचालनमा नआउन पनि सक्छन् । यसरी सृजना हुने बेरोजगारीलाई ब्यवस्थापन गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा काँधमा काँध मिलाई देशलाई अहिलेको असामान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याउन हामी सबैजनाले कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने विषयमा लाग्नुपर्ने समय आएको छ । अहिले देशैभर अत्यधिक रुपमा बढिरहेका कोरोना संक्रमितलाई राख्ने क्वारेन्टिनको अभाव भैरहेको बेला बन्दाबन्दीकाे कारण रोग ,भोक, त्रास र चिन्तामा बाँचिरहेका आम जनतालाई सरकारले बेलैमा सम्बोधन गर्नतिर लाग्नुपर्छ । अन्यथा योभन्दा पनि अरु धेरै समस्या थपिन सक्छन् । अहिले कोरोनाका कारण मृत्यु हुने संख्या र अन्य कारणले मृत्यु हुने संख्या हेर्दा आकाश र जमिनको फरक छ । यस अर्थमा हेर्दा अब कोरोना केही होइन कि भन्ने समय आएको छ । आज ६ महिनाको अन्तरालमा कोरोनाबाट १५०/ १६० को हाराहारीमा मृत्यु हुँदा आत्महत्याबाट करिब ३ हजार, बाढिपहिरोबाट हजारौं जना मरिरहँदा पनि अन्य कुरालाई ओझेलमा पारेर कोरोनाको हाउबुजी किन भन्ने प्रश्न खडा भएको छ । विश्वमा हेर्यो, अन्य समाचार हेर्यो डर लाग्दो छ अनि हाम्रो देशमा हेर्यो, यसो बुझ्यो फेरि केही पनि होइन जस्तो लाग्छ । त्यस कारण अब यो कोरोनाको बारेमा आम मानिसले गहिरिएर सोच्नु पर्ने भएको छ । होइन भने “गहुँ पिच्दा घुन पनि सघै पिचिए” झैँ हामी पनि अरुको ठूलो षड्यन्त्रमा परेको त होइन भन्ने आशंका उब्जन थालेको छ । बैलैमा सोचौं , होसियार रऔं , आफू पनि बचाैं अरुलाई पनि बचाऔं, यसरी बन्दाबन्दी होइन आवश्यक सुरक्षा अपनाई काम गरि खानतिर लागौं,कोई कसैलाई पनि भोक भोकै मर्नबाट बचाऔं ।

    लेखक ( प्रल्हाद दाहाल ) : शिक्षा, कृषि ,सहकारीको विषयमा लेख्नुहुन्छ । हाल वहाँ नेपाल डेरी एसोसिएसनको केन्द्रिय महासचिव हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु