• गन्तव्य नेपालको संयोजनमा राजधानीका दर्जनौं परिवारलाई बोधिसत्वको सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार २१:३१
    गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलको संयोजनमा बोधिसत्व विहारले राजधानीका विभिन्न स्थानमा अप्ठेरोमा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, विहारअन्तर्गत ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्मा र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अविरल सहितको टोलीले आज आज काठमाडौंको बालाजुस्थित अपाङ्ग आश्रमसँगै लामबगर शिव मन्दिर, शान्तिटोल, मनमैजु लोकतान्त्रिक चोक र ललितपुरको हरिसिद्धिका लकडाउनका कारण समस्यामा परेका दर्जनौं परिवारलाई कुल ६२५ किलो चामल, ७५ किलो दाल, ७५ किलो गेडागुडी, 69 किलो पिठो,५० लिटर तेल, ५ किलो मसला र १० किलो चिनी सहयोग गरेको हो । योसँगै टोलीले निषेधाज्ञा अवधिभर आवश्यक पर्दा थप सहयाेग जारी राख्ने प्रतिबद्धता जनाएको छ । पहलकर्ता गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी अधिकारीले आफ्नो पहलमा यसै साता पुरानो गुह्येश्वरीस्थित इप्सा नेपाल र गोकर्णस्थित संयुक्त अपाङ्ग आवास केन्द्रलाई नगद, खाद्यान्न र ट्वाइलेट बाथरुम निर्माण गरिदिनेसम्मको सहयोग गरेको स्मरण गर्दै अपाङ्ग तथा विपन्न वर्गको सेवामा निरन्तर सहयोग जारी राख्ने बताए । बोधिसत्व विहार मानवसेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो ।
    कोरोना महामारीसँगै नेपालमा लकडाउन सुरु भएलगत्तै ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरेको बोधिसत्व विहारले अहिलेसम्म ७ लाखभन्दा बढीलाई नि:शुल्क खाना खुवाइसकेको छ । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ । खाद्य सामग्रीका अतिरिक्त विहारले देशभर भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरेको छ । विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र, क्वारेन्टिन स्थल, सुरक्षा चौकी, कारागार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बोधिसत्वले स्वास्थ्य सामग्री पुर्याएको छ भने पत्रकारहरूलाई पिपिई, प्रेस ज्याकेटसहित सुरक्षा सामग्री वितरण गरेको छ । पछिल्लो समय अपाङ्गता भएका विभिन्न संस्थामा रहेका १७५ जनालाई खाद्य सामग्री सहयोग गरेको विहारले अझै त्यस्ता १ हजार जनालाई सहयोग गर्ने तयारी गरेको ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक समाजसेवी शान्त शर्माले बताएका छन् । यसका अतिरिक्त देशभर बाढी पहिरोको मारमा परेका समुदायको सहयोगमा आफूहरूको ध्यान गएको उनले बताए । केही दिनअघि मात्र बोधिसत्वको टोलीले सिन्धुपाल्चोकको लिदी पुगेर पहिरोले घरबार गुमाएका १७५ परिवारलाई खाद्यसामग्री सहयोग गरेको थियो भने उनीहरूको आवास निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु