• कोरोना सक्रमितको शब व्यवस्थापन : चुनौतीसंँगै कालीबहादुर गणको उदाहरणीय काम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०९:३३

    चितवन । कोरोना भाइरसको महामारीको प्रभाव नेपालमा पछिल्लो समय लगातार बढ्दो क्रममा छ। संक्रमित हुने र संक्रमणकै कारण निधन हुनेको संख्या बढ्दै जाँदा नियन्त्रणका लागि निषेधाज्ञा सहितका उपायहरु अपनाइएको छ । सरकारले परीक्षणको दायरा फराकिलो बनाएको र कोरोना फोकस स्वास्थ्य सेवालाई थप प्रभावकारी पारिएको दाबी गरेको छ ।

    देशभर कोभिड–१९ बाट ज्यान गुमाएकाको शव व्यवस्थापनको काम नेपाली सेनाले लिएको छ । चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले गर्दै आएको छ ।

    गत जेठ २७ गते चितवनमा पहिलो पटक कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको थियो । त्यस यता चितवनमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ । चितवनमा मृत्यु भएकाहरुको देवघाटधाम क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जंगल क्षेत्रमा अन्त्येष्टि गरिँदै आइएको छ ।

    कोरोना संक्रमण भई मरेकाहरुको शव ब्यवस्थापनका लागि तालिम प्राप्त ५ देखी ६ जना सैनिकको टोली खटिने गरेको कालीबहादुर गण भरतपुरका गणपति बिज्ञान खनालले बताए । संक्रमण बढिरहेकाले थप जनशक्तिको खाँचो पर्न सक्ने कुरालाई मध्यनजर गरी विषेश तालिम दिएर जनशक्ति तयार गर्ने काम पनि भइरहेको गणपति खनालले जनाएको छ ।

    शव ब्यवस्थापनमा खटिएको टिमलाई खाने, बस्ने छुट्टै ब्यवस्था गरेकाले टोली काम सकेर सेनिटाईज गरेर सुरक्षित तरिकाले नुहाई धुवाई गरेर सुरक्षित बस्ने हुँदा खतराकोे सम्भावना पनि कम रहेको खनालको भनाई छ ।

    शव व्यवस्थापनमा खटिएको टोलीले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको खनालको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु