• कोरोनाकाल र सरकारको उल्टो बाटो – उदय कृष्ण मास्के

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार २०:१४

    —उदय कृष्ण मास्के

    डिसेम्बर ८,२०१९ मा चिनको वुहान शहरमा Novel corona virus( SARS-CoV-2)
    नदेखिएको भए अहिलेको विश्व पहिलाको जस्तै भाग दौडमा कुदिरहेको हुन्थ्यो । विश्वका सवै मानिसको दैनिकि त्यहि भागदौडको बीचमा कुदिरहेको हुन्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । विश्वनै यहीँ कोरोनाको डरमा बाँच्न परिरहेको छ । सबै देशको प्रमुख उदेश्य जनतालाई कसरी कोरोनाबाट बँचाउने रहेको छ । स्वास्थ्य क्षेत्रमा अरबौ डलर खर्च भएको छ । विश्वका अधिकाशं क्षेत्र घोषित अघोषित लकडाउनमा रहेको छ । विश्वका मै हुँ भन्ने शक्तिशाली देशहरुको अर्थतन्त्र पनि डगमगाएको अवस्था छ । विकसित धनि भनिएका देशहरु कडा लकडाउन पछि विस्तारै सामान्य जिवनमा फर्किन थालेका छन् ।
    चीनमा को वुहानमा डिसेम्बर २०१९ मा देखिएपछि कोरोना भाइसरको सङ्क्रमण त्यसको ठीक २४ दिनमा नेपालमा देखिएको थियो । चिनको बुहानबाट फर्किएको एक नेपाली बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसको कुरा गरिरहँदा हामीले भुल्न नहुने कुरा भनेको नेपाल कोरोना सङ्क्रमित हुने पहिलो दस राष्ट्रमा परेको देश हो । कोरोना सङ्क्रमणको जोखिम, संवेदनशीलता र नेपालसमेत जोखिम युक्त देशको रूपमा विश्व स्वास्थ सङ्गठनले पटक पटक भनिरहेकै हो र भनिरहेकै छ । हामी यस अर्थमा अझै नियन्त्रण उन्मुख नै छौ कि आजसम्म नेपालमा २५७ जना नेपालीले नेपाल भित्र ज्यान गुमाएका छन् भने करिव ४३००० जना नेपालीमा नेपाल भित्र संक्रमण पुष्टि भईसकेको छ । मृत्युदरको हिसावमा हामी अन्य देशसंगको तुलनामा पछाडि नै छौं ।

    हाम्रो देशका कार्यकारी प्रमुखले नै बेला बेलामा कोरोना भाइरस सम्बन्धि दिने तथ्यहिन वक्तव्यले नै प्रष्ट हुन्छ कि सरकार यो विषयमा संबेदनशिल र गम्भीर छैन । विषयविज्ञ भन्दा माथि उठेर प्रधानमन्त्री स्वंम कहिले भाईरसको विषयमा यो जिवीत र निर्जिवत हो भन्ने विवाद गर्नुहुन्छ भने कहिले कोरोना भाईरस सामान्य हो यो तातोपानी खाएर हाछ्यू गर्दा जान्छ भन्नुहुन्छ । कहिले नेपालीको रोग संग लड्ने प्रतिरोधी क्षमता बढी छ त्यसैले यो कोरोनासंग डराउनु पर्दैन भन्नु हुन्छ । कहिले वेसार पानीले यो रोग ठीक हुन्छ भन्नुहुन्छ । कोरोना जस्तो संबेदशनशील रोग जसलाई विश्व स्वास्थ संगठनले विश्व महामारी घोषणा गरेको छ त्यो विषयमा यति हल्का टिप्पणी गर्न प्रधानमन्त्रिलाई सुहाउने विषय नै हैन । यति आलोचना हुँदा हुँदै पनि उहाँमा कुनै परिवर्तन अएको छैन अझै पनि समाननीय प्रधानमन्त्री ज्यु ले विभिन्न टेलिभिजनको अन्तर्वातामा आफै विज्ञ जस्तै टिप्पणी गरेर तथ्यहिन कुरामा जिकिर र स्पष्टिकरण दिईरहनु भएकै छ ।
    नेपाल सरकारले कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्दै गर्दा पहिलो पाईला बाट नै चुकेको छ । नेपालमा पहिलो संक्रमण पुष्टि पछि दोस्रो संक्रमित पुष्टि हुन ३८ दिन लागेको थियो । चिनको बुहानमा देखि ईटाली सम्मको संक्रमण दर हेर्दा यो भयाभह हुने सवै प्रष्ट थियो तर पनि नेपाल सरकारले नेपालमा कोरोना भाइरस नै आउदैन भनि कुनै पनि पुर्व तयारी गरिएन । पर्याप्त मात्रामा परिक्षण गर्ने, स्वास्थ सामाग्री हरु खरिद गरिएन । सरकारले दोस्रो कोरोना संक्रमण पहिचान भएपछि देशलाई लकडाउन गरि आफ्नो भरपुर क्षमतामा पुर्व तयारीमा प्रयोग गर्नु भन्दा पनि स्वास्थ्य सामाग्री खरिदमा ठूला भ्रष्टाचारका कुराहरु आए । स्वंम सरकारमा रहेको नेकपाका शिर्ष तहमै ब्यापक विवाद आयो र सरकारले आफ्नो प्राथमिकता नै आफ्नो कुर्सी कसरी बचाउने भन्ने लाग्यो । यहि बीचमा सरकारले देशको नक्शामा लिपुलेक लगाएतको भुमि थपि आफ्नो चरम अलोकप्रियतामा छारो हाल्ने काम गर्‍यो । विश्व कारोना संग लड्ने योजना बनाउदै गर्दा हाम्रो सरकार सम्माननिय प्रधानमन्त्रीको जन्मोत्सव धुमधाम मनाउदै थियौं त्यसमा पनि हेलिकप्टरमा केक बोकि नेपालको नक्सा अंकित केक काट्यौं । केहि समयको लागि आफ्नो जिम्मोवारी हस्तान्तरण नै नगरी प्रधानमन्त्रीले जटिल शल्यकृया गर्नु भयो।
    नेपालमा सरकारले दोस्रो कोरोना संक्रमित पहिचान भएपछि कोरोना नियन्त्रणकोलागि भन्दै मार्च २४ देखि लागु हुने गरि लकडाउन घोषणा गरेको थियो । करेन्टाईन तथा आईसोलेशन निर्माण, स्वस्थ सामाग्री को आपुर्तीको लागि लकडाउन अपरिहार्य नै थियो । तर यो अवस्थामा सरकार भाइरस भन्दा पनि आफ्नो राजनीति दल नेकपा को आन्तरिक कलह मै समय व्यथित गर्यो। सरकारको ध्यान केवल सत्ता जोगाउनको लागि भयो । स्वंम प्रधानमन्त्रीको निर्देशनमा लकडाउनको उल्लघन गरि प्रधानमन्त्रीको समर्थनमा देश ब्यापी प्रर्दशनहरु भए । लकडाउनले विश्वमा नै पहिलो अमेरिकी अर्थतन्त्र देखि चिन हुदै युरोपेली अर्थतन्त्रलाई समेत घुडा टेकाएको छ । यसमा हाम्रो अर्थतन्त्र त यसै पनि धारासायी नै थियो । कोरोनाकाले ले नेपालको अर्थतन्त्रलाई पूर्णरुपमा धारासायी बनाएको छ भने यसले सर्वसाधारण देखि ठूला ब्यापारीक घराना सम्म नकारात्मक प्रभाव परेको छ ।
    नेपाल सरकार कोरोना नियन्त्रणको विषयमा पुर्णरुपमा विफल देखिएको छ । शुरुका दिनहरुमा कोरोना न फैलियोस भन्नको लागि लकडाउन अपरिहार्य थियो । लकडाउन भनेको पज बटममा मात्र हो । लकडाउनको समय अपरिहार्य ब्वस्थापनको लागि खरिद गरिएको समय मात्र हो । लकडाउन गरेर कोरोना नियन्त्रणको लागि त कुनै ज्ञान र शिप को आवश्यकता नै छैन । नेपाल प्रहरी र सुरक्षा निकायलाई एउटा निर्देशन दिए पुग्छ । देशको आर्थिक अवस्थालाई लकडाउन÷निषेध आज्ञाले तहस नहस बनाईदिएको छ भने जनतालाई मानसिक रोगि बनाईदिएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको बृद्धिदर केवल २.२७ प्रतिशतमा खुम्चिएको छ भने चालु आर्थिक वर्षमा यो दर बजेटले लिएको ७ प्रतिशतको त कुरै छाडौ नकारात्मक हुने अवस्थामा पुगेको छ । एसियाली विकास बैंकले समेत सन् २०२१ मा नेपालको आर्थिक बृद्धि दर केवल ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो तर त्यो भन्दा अहिलेको अवस्था विग्रिसकेको छ । अन्तराष्ट्रिय श्रम संगठनले नेपालमा कोरोनाको कारणले १६ देखि २० लाख रोजगारी प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ भने प्रत्यक ५ मध्य ४ रोजगारले यो कोरोनाबाट कुनै न कुनै रुपमा प्रभावित हुने जनाएको छ । यो नेपाल भित्रको कुरा भयो अन्तराष्ट्रिय बजारमा भएको नेपालीको रोजगारीको विषयमा त कुने अनुसन्धान नै भएको छैन त्यसको अवस्था झनै भयाभह रहेको आकलन गर्न सकिन्छ । सरकारले यो छ महिनाको विचमा कोरोना संग लड्दै देशको आर्थिक अवस्था पनि चलाएमान बनाउनको लागि बातावरण बनाउन आवश्यक थियो ।

    सरकारले छ महिनामा कुनै उल्लेखनिय काम त गर्न सकेन नै आज आएर फेरी उहि गल्ति दोहोराई राखेको छ । आज देशका आधा भन्दा बढि जिल्ला घोषित रुपमा लकडाउन÷निषेध आज्ञा जारी छ । देशको संघिय राजधानीका तिन जिल्ला, ब्यापारीक राजधानी विरगंज, विराटनगर, पोखरा, बुटवल, नेपालगजं, धनगढि जस्ता ब्यपारीक रुपमा महत्वपुर्ण स्थानहरुमा लकडाउन हुँदा जनताको दैनिकी कोरोनाले भन्दा नाजुक अवस्थामा पुगेको छ । विश्वका सवै देशहरु लकडाउन खोलेर सामान्य जिवनमा फर्किदै गर्दा नेपाल सरकार भने उल्टो पाईलामा हिडिरहेको छ । कोरोनाको संक्रमित बढ्न्ु र घट्नुले मात्र सरकारको कोरोनाकालमा अख्तियार गरेको बाटोको सफलता मापन हुदैन । आजको दिनमा त यो विषम परिस्थितिमा सरकारले जनताको दैनिकी सहज बनाउन कस्तो भुमिका निर्वाह ग¥यो देखि लकडाउनको चपेटामा परेको अर्थतन्त्रलाई उकास्नकोलागि कस्तो रणनिति अख्तियार गरेको छ भन्ने कुराले सरकारको सफलत र असफलता मापन हुन्छ । विश्वका सवै देशहरुले अर्थतन्त्रको रिकभरिको लागि भनेर खर्वौ डलरको प्याकेज घोषण गरिसक्दा नेपाल सरकारले एक पैसको राहात प्याकेज घोषणा गरेको छैन । हवाई उडान,उद्योग, यातायात उद्योग, होटल लगाएत पर्यटन उद्योग, सिनेमा घर,मल लगाएत मनोरजंन उद्योग तहस नहस भएको छ । आर्थिक अवस्था चौपट हुँदा बैकं तथा वित्तिय संस्थाहरु समेतको प्रणाली ब्रेक हुने अवस्थामा पुगेको छ । लगानिभएको कर्जाको सावाँ ब्याज नउठ्ने र कतिपय परियोजना नै बन्द हुने अवस्थामा पुगेको छ भने उक्त परियोजनाको मुल्य समेत सुन्य हुँदा लिलामी गर्दा समेत कर्जा असुल हुन नसक्ने अवस्थामा पुगेको छ । यस्तो भयाभह अवस्थामा अर्थतन्त्र पुग्दा समेत सरकार केवल आफ्नो पार्टी भित्रको विवाद कसरी सामाधान गर्ने भन्ने मा नै समय फालिरहेको छ । यसरी सरकार जनताको दैनिकि संग टाढा भईहरेको छ भने जनतामा चरम निराशा पैदा भएको छ । यस्तो चरम निराशाले फेरी अर्को द्धन्द निम्त्याउदैन भन्न सकिदैन ।
    सरकार संग अझै पनि समय छ । समय छदै सरकारले कोरोना पछिको काल ब्यवस्थापन गर्न छिट्टै उचित कदम चालोस । जनताको जिउधनको साथै देशको अर्थतन्त्रलाई पनि बचाउनकोलागि सम्बन्धित विषेशज्ञहरुको राय सल्लाहा बमोजिम उचित पाईला चालोस । सरकारले उल्टो बाटो को यात्रा आजै बन्द गरि नयाँ बाटो पैलाओस् यसमा नै नेपाली जनता र नेपाल सरकारको भलो हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु