• पत्रकार तामाङद्वारा निर्देशित ‘अ डे इन दि हिमालयन सेफर्ड’लाई अलदारी अवार्ड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार २१:०८

    -अक्कल बहादुर तामाङ

    काठमाडौँ– पत्रकार मानछिरिङ तामाङद्वारा निर्देशित वृतचित्र ‘अ डे इन दि हिमालयन सेफर्ड’ले अमेरिकाको अलदारी अवार्ड जित्न सफल भएको छ ।

    अमेरिकाको सिकागोमा गत अगष्ट २८ र २९ मा चलेको अलदारी फिल्म फेस्टिभलमा उक्त वृतचित्र उत्कृष्ट भएको निर्देशक तामाङले बताए ।
    हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्रले अलदारी अवार्डका साथै उत्कृष्ट वृतचित्रको उपाधि समेत प्राप्त गरेको छ ।

    वृतचित्रमा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ । आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरेका तामाङले कसरी कठिन भूगोल र मौसमको चुनौतीसँग मितेरी लगाउँदै, जुद्धै आफ्ना भेडाको स्याहारसुसार गर्छन् भन्ने वृतचित्रमा देखाइएको छ ।


    उत्कृष्ट घोषित भएसँगै उक्त वृतचित्र लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत एक हप्तासम्म प्रदर्शन हुन लागेको तामाङले जानकारी दिए ।
    भेडापालनमा आधारित २० मिनेट लामो उक्त वृतचित्रले यसअघि अमेरिकाको न्युजर्सीमा भएको ‘नेवार्क सर्ट फिल्म’फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ जितेको थियो । यस्तै, २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ र ‘बेस्ट म्युजिक’ अवार्ड हात पारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजित ‘कोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री’को फस्ट रनरअप अवार्ड हात पारेको थियो ।

    ट्रियोन इन्टरनेशनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेस्टिभल लण्डन, हड्सन भ्याली फिल्म फेस्टिभल, न्यूयोर्क, कान्सस सिटी अण्डरग्राउन्ड फिल्म फेस्टिभल र अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेस्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु