• रुपन्देहीमा लकडाउन खुकुलो, कडा सावधानी नअपनाए भयावह हुनसक्छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०९:३२

    बुटवल–सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी भएको जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ। भदौ १७ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले दिएको निर्देशनबारे जानकारी गराएका थिए।रुपन्देही सहित १२ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। पछिल्लो तथ्यांकअनुसार रुपन्देहीमा ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। तर सरकारको निर्देशन आएको ३ दिन बित्न नपाउँदै उद्योगी व्यवसायीको दबाबमा रुपन्देहीमा जारी निषेधाज्ञा खुकुलो पारी व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ।

    जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार दैनिक ७ घण्टा व्यापार व्यवसाय सञ्चालन हुन पाउने छन्। आइतबारदेखि बिहान ११ बजे खुलेका व्यवसाय बेलुका ६ बजेसम्म सञ्चालन हुन पाउने छन्। व्यवसाय खुलेसँगै बुटवलको अमरपथ, ट्राफिकचोक लगायतका ठाउँमा चहलपहल बढेको छ। निजी सवारी साधन नचलाउनु भनेपनि सडक किनारमा लस्करै पार्किङ गरेका गाडी छन्। निजी सवारी साधनमा ओहोर दोहोर बढेको छ। व्यवसायीको दबाबमा व्यवसाय खुलेपनि कोरोना महामारीको जोखिम भने झन बढ्दो छ। त्यसैमाथि खरिद बिक्री गर्दा सुरक्षाको मापदण्ड अपनाएको देखिँदैन।

    लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले रुपन्देही स्वास्थ्यको हिसाबले जोखिमपूर्ण र सम्वेदनशील अवस्थामा रहेकाले कडा सावधानी अपनाउनुपर्ने बताउँछन्। ‘अनुशाशित भएर सामाजिक दुरी कडाइका साथ पालना गर्नुपर्दछ, माक्स कहिले पनि नछोड्ने, बेलाबेलामा साबुन पानीले हात धोइरहने र सेनेटाइजरको प्रयोग गर्ने गरिएन र सर्तकता अपनाइएन भने रुपन्देहीको अवस्था भयावह हुनसक्छ–उनले भने–भीडभाड भएको ठाउँमा नजाने, रुघाखोकी लाग्यो भने घरबाहिर ननिस्कने जस्ता नियम कडाइका साथ पालना गर्नुपर्दछ।

    ’स्वास्थ्यकर्मीहरुलाई जति सुरक्षा र सर्तकता भएन भन्ने चिन्ता र चासो छ त्यति चासो र चिन्ता व्यवसायीमा देखिएको छैन। पसलहरुमा सामाजिक दुरीको पालना भएको देखिँदैन। पसलहरुमा ग्राहक र व्यवसायी दुवैले सावधानी अपनाएका छैनन्।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले सधै भर बन्द गरेर नहुने भन्दै सुरक्षित भएर व्यवसाय गर्न पाउनुपर्ने माग गरेअनुसार बजार खुलेको बताए। उनले सावधानी नअपनाउने व्यवसायीलाई कारबाही गर्न प्रशासनलाई अनुरोध गरे। ‘प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदा हामीले सुरक्षाको मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारबाही गर्न भनेका छौं’–उनले भने–‘व्यवसायीहरुलाई पनि हामीले मापदण्ड अपनाउन सजग गराएका छौं, कारबाहीमा पर्नुभयो भने हामी जवाफदेही हुँदैनौ भनेका छौं।

    ’व्यवसायी र ग्राहकले सुरक्षाको मापदण्ड पालना गरे/नगरेको स्थानीय तहले नियमित अनुगमन गर्नुपर्ने हमालले बताए। रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले कोरोनाको महामारीमा बजार खोल्नु जोखिमपूर्ण भएको भन्दै सबैले सावधानी अपनाएर व्यवसाय गर्नुपर्ने बताए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु