अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २५ गते, बिहीबार १०:१९

काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।

आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’

उहाँका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ । जसअन्तर्गत वैदेशिक रोजगारी जाने र अन्य कारणले गर्दा अब पाँच लाख लाइसेन्स मात्र स्मार्ट बनाउन बाँकी रहेको छ । ती लाइसेन्सलाई पनि स्मार्ट बनाउने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक हमालले भन्नुभयो– ‘विभागमा थन्किएका सबै स्मार्ट लाइसेन्स प्रिन्ट गरेर यातायात कार्यालयलाई पठाइसकेका छौं, दैनिक चार हजार स्मार्ट लाइसेन्स प्रिन्ट हुने अनुमान गरेका छौं, उपत्यकाभित्र सात दिन र उपत्यकाबाहिरका बढीमा एक महिनाभित्र स्मार्ट लाइसेन्स प्रिन्ट गरेर उपलब्ध गराउँछौं ।’ विभागले केही समयअगाडि खरिद गरेको मास प्रिन्टरले दैनिक करिब सात हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु