• रक्तदानसँगै राहत वितरणलाई पनि निरन्तरता दिँदै कुँवर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १९:२८

    काठमाडौं । व्यापारी भएर पनि समाजसेवामा केही खर्च गरौं भनेर सामाजिक अभियान चलाउँदै आएका वाफल काठमाडौंका ताराबहादुर कुँवरले पछिल्लो समयमा चलाएको रक्तदान अभियान पनि प्रभावकारी बन्दै गएको छ ।
    उनी अब दुवै अभियानलाई सँगै लाने बताउँछन् । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले मानिसको दैनिक जीवनयापनमा समस्या परेको बुझेपछि नागरिकलाई हरेक शनिबार राहत स्वरुप चामल, दाल, तेल, नुनसहितका सामग्री वितरण गरिरहेका छन् । उनले लकडाउन खुलेपछि बीचमा केही समय राहत वितरण रोके पनि फेरि सुरु भएको निषेधाज्ञामा राहत बाँडे, जुन प्रक्रिया अहिलेसम्म जारी छ । उनीबाट अहिलेसम्म १२ सय ४७ जनाले राहत पाएका छन् । उनी व्यापारबाट आएको केही नाफा समाजसेवामा लगाउने बताउँछन् ।

    चक्रपथ सरसफाई अभियानको अगुवाइमा शनिबार बागमति प्रदेशसभाका नेकपा सांसद् लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लम्सालसहित २७ जनाले रक्तदान गरेका थिए । कुँवर नै अभियानका प्रमुख अभियन्ता हुन् । अहिलेसम्म तीन चरणमा गरी संकलित ७९ पाउण्ड रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ । हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक रहेका उनी पछिल्लो समयमा रगतको अभाव हुन थालेपछि आफूले रक्तदान अभियान चलाएको जनाउँछन् । उनी रक्तदान र राहत वितरण अभियानलाई हरेक साता सञ्चालन गर्ने बताउँछन् ।
    उनले आफूले लगाएको घरभाडामा पनि लकडाउनमा छुट गरिदिएका थिए । सरकार र अन्य निकायले लकडाउनपीडितको मर्म बुझ्न नसकेको उनको गुनासो छ । उनी अरु नागरिकलाई पनि समाजसेवामा सक्रियता देखाउन आग्रह गर्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु