• कोरोनाले ग्रील व्यसायीहरु धेरै मर्कामा परेका छन्

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार २०:२४

    तोकबहादुर गहतराज, (तोकेन्द्र),युवा व्यवसायी
    तपाईको परिचय ?

    मेरो नाम तोकबहादुर गहतराज हो ,व्यवसाय तथा धेरै जसोले मलाई तोकेन्द्र भनेर पनि चिन्दछन् । मेरो जन्म सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ चिम्लिङ (साविक माँख ५) स्थित बुबा स्व.नन्दवीर र आमा मसली गहतराजको कोखबाट २०३९ कार्तिक ७ गतेका दिन भएको हो ।म सुरुदेखि नै लिडरसीपमा जोड गर्दथे । साथीहरुले पनि विस्वास गर्दथे । म अवस्था अनुसार मिलनसार र हक्की दुवै हुं । साथै मेरो सुरुदेखि नै सामाजिक काममा रुची थियो । अथवा सामानजिक भावना थियो । घरको सामाजिक आर्थिक अवस्थाको कुरा गर्दा मध्यम वर्गीय किसान परिवार हो । बुबा परम्परगत बालीघरे काम पनि गर्नु हुन्थ्यो, घरमा दुई छाक टार्न गाह्रो थिएन ।

    तपाईको शिक्षा दिक्षा तथा बाल्यकाल कसरी बित्यो ?

    मेरो पढाई समग्रमा राम्रो थियो । जेहेन्दार र मिहेनती थिएं । गाउँकै सरस्वती प्रा.वि. बाट कक्षा पाँच पूरा गरें । पढाई मेरो अब्बल थियो । सेतीदेवी शारदा उच्च मा. वि. पढ्न गाउँबाट ३ घन्टा लगाएर लामोसाँघु आउनु पर्दथ्यो । दलित भएकै कारणले कोठा पनि नपाईने, अर्को गुरुहरुबाटै छुवाछुट र अन्याय सहनु पर्दथ्यो । २०५६ सालमा एसएलसी पास गरिसकेपछि अध्ययनका लागि काठमाडौं आएं । कलकीस्थित जनमैत्री क्याम्पसमा भर्ना भएं । जिवीकोपार्जन र व्यवसाय आदि कारणले पढाई सोचे जस्तो भएन । स्नातक पढ्दै गर्दा केही विषय लागेको छ । कलेजले परीक्षा दिन बोलाईरहेको छ । परीक्षा दिन तयारी पनि गरिरहेको छु । आखिर पढाईलाई उमेर पनि त छेक्दैन । व्यवसाय, सामाजिक र राजनीतिमा लागि रहंदा पढाई चाहिँदो रहेछ भन्ने महसुस भएको छ । बाल्यकालको कुरा गर्दा समग्रमा राम्रो भयो । तर जब समाजलाई मैले बुझ्ने भएं मानिस मानिसबीच पनि छुवाछुत हुँदो रहेछ । हामीलाई दलित भन्दा रहेछन्, हेप्दा रहेछन् । जसले सानै उमेरमै विद्रोही बनायो । सामाजिक राजनीतिकमा केही गर्नुपर्छ भन्ने सोच पलाउनुको साथै व्यवसायमा पनि सफल यद्यमी बन्ने सोच बनाएं । आज यात्रामा लागिरहेको छु । मिहेनत गरिरहेको छु र समय र भगवानले पनि साथ दिईरहेको छ ।

    वैवाहिक तथा घर परिवारबारे पनि बताईदिनोस न ?

    म तीन दाजुभाईको जेठो हुं । २ दिदी र २ बहिनी रहेकी छन् । भाईहरु पनि आआफ्नो गरिरहेका छन् । दुई दिदी र एक बहिनीको विवाह भईसकेको छ । कान्छी बहिनी नेपाली सेनामा रहेकी छन् । २०५९ सालमा सिन्धुपाल्चोक निवासी गंगामाया गदाल (गहतराज) संग मागी विवाह भएको हो । उनी गोल्मादेवी प्रा. वि. को प्रधानाध्यापक रहेकी छन् । दुई छोरीहरु जोनी (एसइई दिदै), जेनी (कक्षा ६ मा अध्ययनरत) रहेका छन् । उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिदै सरकारी सेवामा लगाउने मेरो मुख्य उद्देश्य हो । मैले यसो भनिरहंदा उनीहरु चहना नै पहिलो विकल्प हो । आखिर के बन्ने भन्ने चाहना उनीहरुकै हो ।

    राजनीतिकमा पनि सक्रिय हुनुहुन्छ की ?

    अवश्य । माथिको हरफमा पनि बताएकी जब मैले समाजलाई बुझ्ने भए हामीलाई दलित भनेर मानिस मानिसबीच पनि छुवाछुत हुँदो रहेछ । पढाउने गुरुहरुबाटै हामीलाई छुवाछुत र अन्याय भयो । उहाँहरु विरुद्ध मुद्धा नै हाल्नु परेको थियो । त्यसरी सानैदेखि विद्रोही बनायो । तर पनि सामाजिक परिवर्तनमा सोचे जसरी काम गर्न सकिरहेको छैन । मैले स्कुल पढ्दै गर्दा देशमा तत्कालिन माओवादी युद्ध चर्किरहेको थियो । हाम्रो लागि यहि पार्टी लडिरहेको सोचाईसहित विद्यार्थीकालदेखि नै लागे । त्यो असजिलो समयमा स्कुल कमिटिमै बसेर काम गरें । निरन्तर पार्टीमा लाग्ने क्रममा हाल ठुलोबाबु श्रेष्ठ नेतृत्वमा रहेको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क कमिटिको सदस्यको रुपमा काम गरिरहेको छु । अब जनप्रतिनिधि समेत हुने गरी सक्रिय राजनीतिमा रहने योजना बनाईसकेको छु ।

    ग्रील तथा स्टील व्यवसाय नै किन रोज्नु भयो ?

    काठमाडौं अध्ययनका लागि आईरहंदा जिवीकोपार्जनको लागि केहि काम गर्नै पर्दथ्यो । सुरुमा मैले आल्मुनियमको काम गरे । त्यसपछि फलाम, स्टील, यूपिभिसीको काम गर्दै आएको छु ।

    बुबाले गर्नूभएको परम्परगत पेशालाई किन अपनाउनु भएन ?

    बुबाहरुको त्यतिबेलाको स्थिति त्यस्तै थियो होला । तर आजको दिन आधुनिकताको समय हो । त्यसैले यस पेशालाई आधुनिकीकरणको खाँचो रहेको थियो । त्यसरी म लागे । परम्परागत पेशाले हाम्रो समुदायलाई अपमान गर्नुको साथै कमाई पनि नहुने हुँदा मेरो रुची भएन ।

    अहिले गरिहेको पेसामा लाग्ने तपाईको प्रेरणाको स्रोत को हुनुहुन्छ ?

    सुरुमा सिन्धुपाल्चोककै एक जना दाई मार्फत ठमेलमा आल्मुनियम कम्पनीमा सहायक असिस्टेन्ट भएर काम गरे । त्यसको तीन महिनापछि मैले आफ्नै व्यवसाय सुरु गरे । त्यतिबेला आल्मुनियमको मार्केट व्यापक हँुदै गईरहेको थियो । त्यही बेला मैले आल्मुनियमको व्यापार सुरु गरे । त्यसै गरी विगत ६,७ वर्षदेखि ठुलोबाबु श्रेष्ठ जो सिन्धुपाल्चोक निवासी नै हुनुहुन्छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रथम उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई मेरो काका कमल गहतराज मार्फत भेटें । त्यतिबेला उहाँले चःमतिस्थित मनिस श्रैष्ठ र रामकुमार श्रेष्ठलाई फलामको वर्कशप सुरु गराउनु भएको रहेछ । उहाँहरुले चलाउन नसकेपछि मोहन तामाङले चलाउन सुरु गर्नुभयो । उहाँले पनि नसकेपछि ठुलोबाबु सरले मलाई आग्रह गर्नुभयो । त्यसपछि आल्मुनियमकोे अलावा फलाम, स्टील र यूपिभिसीको काम समेत सुरु गरें । आखिर एक अर्का संग सम्वन्धित पनि थिए । त्यसरी आजसम्म निरन्तर यहि व्यवसाय गरिरहेको छु ।

    कहिलेदेखि यस व्यवसायमा हुनुहुन्छ ? अहिलेसम्म कति ग्राहकको सेवा गर्नुभयो ?

    २०६१ सालदेखि कम्पनी खोलेर काम सुरु गरको हुं । त्यस भन्दा अगाडी देखि नै काम गर्दै आएको थिएं । एप्पल आल्मुनियम एण्ड स्टील वर्कशप कम्पनी स्थापना गरी निरन्तर काम गर्दै आएको छु । सुरुमा प्यान र हाल भ्याटमा गई राज्यलाई राजस्व तिर्दै आएको छु । अहिलेसम्म एक हजार भन्दा बढी ग्राहकको सेवा गरिसकेका छौं । एक पटक हामी कहाँ आउने ग्राहक अन्यत्र जानु भएको छैन । हामीलाई नै रुचाउदै आउनुभएको छ । ग्राहकको सेवा नै हाम्रो सन्तुष्टि हो भन्ने हेतुले काम गरिरहेका छौ । ३ मिस्त्री सहित ४ हेल्परले रोजगारी पाएका छन् भने राज्यलाई कर तिरिरहेका छौं ।

    यस व्यवसायको हकहितमा लाग्नूपर्छ भनेर चाहीं कसरी सोच्नु भयो ?

    यस व्यवसायमा काम गरिरहंदा विभिन्न विकृति विसंगतिहरु देखा परे । व्यवसायीहरुबीच एकता संगठन नहुनु, भाइचाराको सम्बन्ध नहुनु, अस्वस्थ प्रतिस्पर्धा हुनु, अवैधानिक कामहरु हुनु, दुर्घटना हुँदा व्यवसायी बीच नै एकता नहुनु आदि कारणले यस व्यवसायको हकहित र एकता अनिवार्य रहेको महसुस गरें । केन्द्रमा महासंघ बनिसकेको थियो । र मैले पनि आफ्नो एरियामा पहल थाले । सुरुमा भरत गहतराज मार्फत खुसिबु, चःमति, ढल्को बालाजु इकाइको सचिवको रुपमा काम थाले, अध्यक्षमा रामप्रमोद साह हुनुहुन्थ्यो । त्यसको छोटो समयमै २०७५ साल जेठ १२ गते अध्यक्षमा निर्वाचित भएं । छोटो समयमै साथीहरुले धेरै विस्वास गर्नुभयो । अब मेरो यात्रा भनेको जिल्ला र महासंघसम्म पुग्नु रहेको छ ।

    यस व्यवसायको समस्या र समाधान के के हुन् छोटकरीमा बताईदिनोस न ?

    यस व्यवसायको समस्या धेरै छन् । हाल कोरोनाले व्यवसाय ठप्प रहेको छ । डब्लुएचओको मापडण्डमा रहि सम्पूर्ण व्यवसायीहरुले काम गरिहेका छौं । कति व्यवसायी साथीहरुले बैंकबाट लोेन लिएका छन्, ब्याज मिनाहा गर्न अभियान चलाएका छौं । राज्यले हाम्रो व्यवसायलाई सम्मान गर्न सकिरहेको छैन । विभिन्न नयाँ नयाँ नियम बनाएर पेलिरहेको छ । विना विकल्प हामीलाई भ्याली बाहिर स्थानान्तरण गर भनिरहेका छन् । दर्तामा त्यत्तिकै झन्झटिलो रहेको छ । अर्को हामी व्यवसायीहरु बीच नै भाईचाराको सम्बन्ध हुन सकिरको छैन । एकिकृत हुनुपर्छ भन्ने त छ तर जसरी हुनुपर्ने हो त्यो भईरहेको छैन । त्यसका लागि प्रशिक्षणको आवश्यकता रहेको छ । अनुशासन र नियन्त्रण नेतृत्वले गर्न नसकेकै छ । सुरक्षा र जनशक्तिको अभाव रहेको छ । अस्वस्थ प्रतिस्पर्धा र अवैधानिक कामहरु भईरहेका छन् । पूँजीको अभाव रहेको छ । उद्योग सञ्चालनको लागि सुलभ ऋणको आवश्यकता पर्दछ । बजार व्यवस्थामा अस्पष्टता रहेको छ । साना उद्योग मैत्री निती नियम बनिरहेका छैनन् । सामाजिक सुरक्षा पनि प्रभावकारी ढंगले लागू हुन सकिरहेको छैन । यी इत्यादि समस्याको समाधान हुने हो भने व्यवसायमा धेरै परिवर्तन आउनेछ ।

    अरु कुन कुन संघ संस्थामा आबद्ध हुनुहुन्छ ?

    हाम्रो यस इकाइ चक्रपथ सरसफाई अभियानमा पनि जोडिएको छ । खुसिबुमा पनि काम गरिरहेका छौं । गहतराज सञ्जालको केन्द्रीय सदस्य र बाग्मती प्रदेशको संयोजक समेत रहेर काम गरिरहेको छु । त्यस्तै सिन्धुपाल्चोकस्थित उपेक्षित वर्ग एकता तथा उत्थान समितिको अध्यक्ष समेत रहेको छु । हम्रो यस इकाइमा हाल ४६ व्यवसायीहरु मात्र आबद्ध छन् । यसलाई अझ बढाउँछौ । राज्यको गलत नितीको भन्डाफोर गर्दै प्रशिक्षण, व्यवसायीहरु बीचको एकता र संगठनमा जोड गदैछौं । यस पेशालाई आधुनिकीकरण गर्नुको साथै अनुशासनमा जोड गर्दछौं । सामाजिक कार्यमा जुट्न आह्वान गर्दछौं । निकट भविष्यमै हामीले बैठक भत्ता समेत राख्ने छौं र जसले व्यवसायीहरु बैठकमा आउन रुची देखाउन् । रत्तदान, सीटिईभिटीबाट विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गर्नुको साथै सृजनशील काममा सक्रिय भएर लाग्ने इकाइको योजना रहेको छ । मेरो व्यत्तिगत भन्नुहुन्छ भने व्यवसाय राजनीति र समाजसेवामा निरन्तर लाग्नेछु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु