दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बन्दाबन्दीसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि संचालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन ५ गते, सोमबार ९:०४

काठमाडौं । बन्दाबन्दीसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि संचालन हुने भएको छ । यसका लागि सबै तयारी पूरा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तर्राष्ट्रिय उडान भएका थिए ।

बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो सङ्ख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड–१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तर्राष्ट्रिय उडान भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तर्राष्ट्रिय उडान हुन्छन् । एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान गर्ने गरेका छन् ।

शुरुमा नेपालका तीनसहित १२ अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लो पटक सरकारले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अमुमति पाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार यो सङ्ख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्ति लगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताए ।

आज सोमबार असोज ५ गतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता अझ बढेको छ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धता लगायत काममा विमानस्थल निकै व्यस्त हुनेछ । महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तर्राष्ट्रिय उडान अन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पिसीआर रिपोर्ट नेटेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थलका अनुसार अहिले सबै प्रकारका उडानमार्फत दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म यात्रु नेपाल आएका छन् । यसरी आउने यात्रुको स्वास्थ्य प्रक्रिया लगायत व्यवस्थापन गर्नुपर्ने भएकाले विमानस्थलमा चाप बढेको छ । अन्तर्राष्ट्रिय विमानस्थल अहिले दैनिक २१ घण्टा सञ्चालनमा छ । अन्तर्राष्ट्रिय विमानस्थलमा हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनलीले सेवा सञ्चालन गर्दै आएका छन् । बन्दाबन्दीको छ महिनापछि असोज ५ (आज) देखि सञ्चालन हुने आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ । वायुसेवा प्रदायकले पनि स्वास्थ्य प्रोटोकल पालना गरेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । शुरुको एक साता सामान्य अवस्थाको २५ प्रतिशत मात्र आन्तरिक उडान हुनेछन् । क्रमशः उडान सङ्ख्या बढाइने नियामक प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा आन्तरिकतर्फ ३०० हाराहारी उडान हुने गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु