नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन १४ गते, बुधबार ०७:१४

काठमाडौँ, १४ असोज। नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको जानकारी दिनुभयो । मुलुकको रणनीतिक महŒवको सो नाका विगत ८० दिनदेखि बन्द छ । बन्द अवधिमा सो नाकाबाट स्वास्थ्य सामग्रीको आयात भए पनि अन्य व्यावसायिक वस्तुको आयात हुन सकेको छैन ।

“सो नाका सञ्चालनमा ल्याउनेबारे नेपाली र चिनियाँ पक्षबीच तातोपानीस्थित मैत्री पुल नजिक तिब्बतको लिपिङमा मङ्गलबार भएको बैठकले तातोपानी नाका पुनः असोज १९ बाट पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ”, प्रजिअ अधिकारीले भन्नुभयो । सहमतिअनुसार नाका सञ्चालन गर्न असोज १८ सम्म दुवै पक्षले सम्पूर्ण तयारी पूरा गरी १९ गतेबाट समान नेपाल भित्रन सुरु हुनेछ ।

बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुभएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकाल र चिनियाँ टोलीको नेतृत्व गर्नुभएका ल्हासाको विदेश विभागका उपनिर्देशक ली उलिनबीच सो सहमति भएको थियो । नाका सञ्चालनका क्रममा दुवै पक्षले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने बताउँदै उहाँले चीनबाट ल्याइएका सामान लोड–अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५/२५ जनाको दुईवटा श्रमिक समूह तयारी अवस्थामा रहने गरी सहमति भएको जानकारी दिनुभयो ।

त्यसैगरी सामान ल्याउने सवारी साधनका चालक, सहचालक र सामान लोड–अनलोड गर्ने श्रमिकले हरेक पाँच दिनमा पीसीआर परीक्षण गराउनुपर्ने, कामबाहेकको समयमा एकान्तबासमा बस्नुपर्ने सहमति भएको जानकारी उहाँले दिनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु