• प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १८:१९

    काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । मंगलबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी टुंगो लागेको हो ।

    प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।

    भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेशसभामा ८७ सदस्य रहेकोमा आज भोटिङको समयमा ८२ सांसद उपस्थित थिए ।

    सरकारले पेश गरेको प्रस्तावका पक्षमा सत्तारुढ नेकपाले र विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले ह्वीप जारी गरेपनि कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हाले ।

    यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु