हाम्रो राम्रो पक्ष भनेको नै हाइजिन मेन्टेन हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक १ गते, शनिबार १३:३१

बिष्णु भण्डारी,संचालक,वालनट बिष्ट्रो एण्ड बैंकेट

धेरै लामो समयसम्म गैर आवासिय जीवन व्यथित गर्नेहरु मातृभुमीमा आउँदा पनि अक्सर पाहुना बनेर आउने गर्छन्, कतिपयले स्वदेश फर्कने बाटो नै भुल्छन् त कोही आफन्त समेत भुलेर छुट्टै संसार बसाउन पुग्छन् । यसरी विदेशी भुमीको माया मोहमा भुल्नेहरु विदेशको सुखसयल र यश आरामको जिन्दगी परित्याग गर्दै स्वदेशमा नै श्रम, पुँजी र प्रविधी लगाउने गरि भौतिक उपस्थिती जनाउनेहरु शायदै नगण्य संख्यामा होलान् । तिनै मध्येका एक नेपाली हुन बिष्णु भण्डारी । दुई दशक भन्दा पनि लामो समय विदेशी भुमीमा बिताएका भण्डारीले स्वदेश फर्किएर पर्यटन व्यवसाय अन्तर्गत हस्पिटालिटी क्षेत्रमा लगानी गरेका छन् । हाल उनले काठमाडौको महाराजगञ्जमा करिब ५ करोडको लागतमा वालनट बिष्ट्रो एण्ड बैंकेट सञ्चालक गरेका छन् । कुनै बेला गैर आवासिय नेपाली बन्दै विश्वका विभिन्न कुनामा भौतारिएका भण्डारीले आजको दिनमा श्रम र शिपलाई आफ्नै स्वदेशी भुमिमा नै पोखेका मात्र छैनन् कि, साथमा रोजगारीको अवसर पनि सिर्जना गरेका छन् । दुई दशकको पराई भुमी बसाईलाई विट मार्दै नेपाल फर्किएर स्वदेशमा नै व्यवसाय संचालन गर्दै आएका भण्डारीसँग न्युजलाईन्स्का लागि गरिएको कुराकानीः

यहाँ स्थाई रुपमा बसोबास गर्ने गरि स्वदेश फर्कनु भएको हो ?

म काम गर्ने सिलसिलामा २१ बर्षसम्म विदेशमा रहे,त्यहाँको बसाईलाई बिट मार्दै स्थाई रुपमा नै नेपाल बस्ने सोच बनाएरै आएको छु । अमेरिका जस्तो मुलुकमा बसेता पनि आफ्नो मातृभूमिमा केहि गर्नु पर्छ भनी उद्धेश्यका साथ नेपाल फर्केको छु । पहिले देश अनि मात्र विदेश भन्ने नारालाई मनन् गर्दै नेपालमै केहि गरौं विदेशिएका नेपालीले पनि नेपालमै केहि गर्नुपर्छ आफ्नो श्रम र कर्मलाई नेपालमै सदुपयोग गर्नुपर्छ भनेरै म स्थायी रुपमै नेपाल फर्किएको हुँ ।

सामान्यतया पैसाको मोहमा मानिसहरु विदेशी भुमी मै रम्ने गर्छन् नि,तपाईं किन अपवाद बन्नु भयो ?

यो प्रश्नको उत्तर खोज्न जटिल छ । मानिसहरु रहर भन्दा पनि वाध्यताले विदेशीने गर्छन् । हरेक मानिस अवसरको खोजीमा विदेशिन्छ । विश्वभरमै त्यही ट्रेन्ड छ । तर मेरो स्वदेश फर्काइको सन्दर्भमा कुरा गर्ने हो भने म पहिल्यैदेखि स्वदेश फर्किने चाह राख्थे । आफ्नै देशमा केही गर्नु पर्छ भन्ने मान्यता बोक्थे । आफ्नै परिवारको साथमा, साथी संगत र आफन्तजनको नजिकपनलाई खुब मिस गरेको थिएँ । यि र यस्तै कुराहरुले मेरो मन विदेशी भुमिमा रम्न सकेन । त्यसैले प्रि–प्लान बनाएर नेपाल फर्किए ।

स्वदेश फर्कनु अघि कस्तो प्रि –प्लान बनाउनु भयो ?

कामको सिलसिलामा म युरोप र अमेरिका गइरहन्थे ।पछिल्लो समय मेरो बसाई बरमुडामा थियो । म हस्पिटालिटीको क्षेत्रमा भिजेकोले पनि यस क्षेत्रमा राम्रो दख्खल राख्थे । हाईजिन हस्पिटालिटी क्षेत्रको प्रमुख महत्वको बिषय हो । मैले नेपालमा गएर अब हाइजेनिक बेसमा हस्पिटालिटी उद्योगमा लगानी गर्छु । स्वदेश फर्कने मौकाको पर्खाइमा नै रहेकोले मैले क्विक डिसिजन लिए बैंकेट सहितको रेष्टुरेन्ट नै नेपालमा खोल्छु भन्ने सोच लिएर नेपाल फर्किए र सोही प्लान अनुसार काम गरे । करिब पाँच करोड लागतमा वालनट बिष्ट्रो एण्ड बैंकेट सञ्चालनमा ल्यायौं । विदेशबाट ल्याएको पुँजी अपुग भए पछि केही स्वदेशी स्रोत पनि लगानी गरेको छु । त्यही नै हो ।

यहाँले बैंकेट खोलेको केही समय पस्चात नै कोभिडले गर्दा व्यवसाय प्रभावित बन्यो नि होईन ?

हो,गत बर्षको तिहारमा बैंकेटको सफ्ट ओपनिङ गरेका थियौ शुरुवाती समयमा भएपनि बैंकेटले राम्रो व्यापार गरिरहेको थियो । तर चैत्रदेखि कोरोना भाइरसले गर्दा व्यवसाय नै बन्द गर्नु प¥यो । गएको बैशाखमा बैंकेटको फर्मल्ली नै ग्राण्ड ओपनिङ गर्ने योजना बुनेको थिए, कोरोनाले गर्दा त्यो संभव पनि हुन सकेन । अवस्था सामान्य भए पछि गर्ने सोच अझै छ ।

व्यवसाय निर्वाध संचालन गर्ने माहौल नै छैन, कस्ता अप्ठयाराहरु महशुश गर्नु भएको छ ?

हो,कोभिड १९ बाट हस्पिटालिटी क्षेत्र तहस नहस पारेको छ । अझ हाम्रो जस्तो बैकेट क्षेत्र लामो समयसम्म पूर्ण रुपमा प्रभावित बन्न पुग्यो । हाल केही दिन यता बैकेट खोल्न पाएका छैनौं । थोरै भने पनि कारोबार भएको छ । तर ठुलो संख्याको मास ग्यादरिङ्ग वर्जित भएकाले व्यापार पहिलेको तुलनामा निकै कम छ । हाम्रोमा करिब ४० जना स्टाफ हुनुहुन्छ । लामो समयसम्म व्यवसाय नै चल्न नसके उहाँहरुलाई नियमित तलब दिन अप्ठयारो भएको छ । अन्य थुप्रै जटिलताहरु महशुश गरेका छौ । भनेर साध्य छैन । हाल सारा विश्व नै महामारीको चपेटामा छ,सारा विश्व भरिको अवस्था नै प्रतिकुल छ । त्यसैले चित्त बुझाउनुको विकल्प पनि छैन ।

अन्त्यमा,वालनट बैकेटको बिशेषता बारे केही प्रकाश पारिदिनुस् न ?

हाम्रो राम्रो पक्ष भनेको नै हाइजिन मेन्टेन हो। त्यसो त स्वस्थ्यकर परिकारलाई रिजनेबल मूल्यमा क्वालिटी कमिटमेन्ट सहित सर्भिस डेलिभरी गर्ने प्रमुख लक्ष्य अनुरुप हामी अघि बढेका छौ । अतिथी सत्कार र हार्दिकतामा हामीले उस्तै जोड दिएका छौ भने कोभिड पस्चात हाम्रा स्टाफ र ग्राहक महानुभावहरुको स्वास्थ्य सुरक्षाका चासो पनि हाम्रो प्राथमिकताको सुचीमा छ । हामीले ग्राहकले निसन्देह सेवा प्राप्त गर्न पाउनु पर्छ भन्ने मान्यता बोक्ने भएकाले पनि हामी तुलनात्मक रुपमा बिशेष छौ । त्यस्तै परिकारको सवालमा कुरा गर्नु पर्दा हामीले बिशुद्ध नेपाली लोकल खानाको संरक्षण गर्ने, स्वदेशी बिदेशी ग्राहकहरुमाझ नेपाली खानाको प्रर्वधन गर्ने निती लिएका छौ । हामी पिज्जा, बर्गर भन्दा हाम्रै नेपाली खानालाई प्रबर्धन गर्नुपर्छ भन्ने मान्यता अनुरुप अघि बढेका छौ । अहिले यो महामारीको बिचमा पनि लकडाउन खुकुलो भए यता हामीले विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेपाल सरकारको सुरक्षा नीतिलाई लागु गर्दै व्यवसाय सञ्चालन गरिरहेका छौं । अन्तमा सम्पूर्ण नेपालीहरुमा हाम्रो वालनट बिष्ट्रो एण्ड बैंकेट परिवारको तर्फबाट विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु