दनदनाउँदा दावानलहरू
पिउँदै प्रतिरोध गर्ने हामीहरू
क्षतविक्षत भयौं मरणासन्न भयौं,
यन्त्रणाको पल्लो किनारामा पुगेर
बाँचेका हामीहरू !
स्वप्नवत् दृश्यहरु आँखाभरी लिएर
सम्झँदै उत्ताल तरङ्गहरू अतितका !
अहो त्यो वीभत्स आँधी थामियो
अहो त्यो भयानक बलिवेदीको अन्त भयो
यातना शिविरहरूमा थङथिलो भयौँ हामीहरू !
ताता गोलीहरूले क्षतविक्षत भयौँ हामीहरू !
मृत्यु एकदमै नजीकबाट गयो
बोध भयो हामीलाई
मृत्युका चिसा हत्केलाहरूमा दमनको
दुखाई कस्तो हुन्छ भनेर !
वीभत्स निरङ्कुशताले निल्यो प्यारा साथीहरूलाई,
अनि
अनयासै अस्ताए अँगालोका न्याना घामहरू !
निरङ्कुश बहुला हात्तीको बर्बरता सकियो,
अँध्यारो लामो कालरात्रिको अन्त भयो !!
तर ,
हाम्रा घाईते आँखाहरूमा
तरङ्गित भए मनमोहक सपनाहरू!
हाम्रा चहराईरहेका छातीहरूमा
प्रवाहित भए सुन्दर कल्पनाहरू !
हामीले बिस्तारै शिर उठाएर पूर्वतिर हेर्यौँ
!
आहा सुन्दर नेपालको परिकल्पना भित्र तैरिदै गरेका पुँजिवादका बहुरुपी नयाँ आयामहरु!
न्यानो सूर्योदयको आकाङ्क्षामा
बिर्सियौँ सारा यन्त्रणाहरू !
चलमलाउन सकेनन् हाम्रा अवयवहरू !
जकडियो हाम्रा बहुहरु !
लत्यांग्रीयो हाम्रा चंक्षुहरु !
अस्पतालका शय्याहरूमा
चर्काईएका हाम्रा मेरूदण्डहरू !
भाँचिएर टुक्राटुक्रा बनाईएका हाम्रा हाँडहरू !
लुलिएर सुक्दै गएका हाम्रा रक्तनलीहरू !
शीतक्षेत्रको पुष्प लतिकाझैँ बन्दी बने
असक्तताका हाम्रा व्यूहहरु !!
अनि अस्तायौं हामी
बिलायौं हामि
तुहियो हाम्रा बिद्रोह,
अनि स्वखलित भयो
हाम्रो क्रान्तिकारिता पनि !!
रामचन्द्र तिम्सिना
(आवाज)