काठमाडौं, ५ पौष । मौलिक भाषा, भेषभूषा र संस्कृतिका धनी नेवार जातिको सामाजिक कथामा आधारित चलचित्र “लुँ यागु तक्मा”(सुनको तक्मा) को शुभमुहुर्त सम्पन्न भएको छ ।
ठमेलवासीको शान र समुन्नतिको आधार मानिएको छायाँ सेन्टरको प्राङ्गणमा मंसिर २९ गते आयोजित एक भब्य समारोहमा नेपालका बरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता उक्त शुभमुहुर्त सम्पन्न भएको थियो।
कलाकारहरु मानकृष्ण वावा, सुरज व्यङ्जनकार, राोजिना सुवाल, भगेन्द्र मानन्धर, रञ्जना सिदिकु, रिजन महर्जन, हसिना महर्जनबाट मुहुर्त अभिनय गरी शुभारम्भ भएको उक्त कार्यक्रम चलचित्रको निर्माता तथा निर्देशक सुरेन्द्र तुलाधर लगायतले संबोधन गरेका थिए। नेपाल भाषाका सिने कलाकार मानकृष्ण बाबाको “स्वास्थ्य उपचार तथा जीविकोपार्जन कोष” स्थापनार्थ सुखावती मल्टी प्रडक्सनको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमासंलग्न कलाकार निर्देशक, विज्ञ प्राबिधिक तथा अन्य सरोकारवालाहरुले निःशुल्क काम गर्नुका साथै आवश्यक उपकरणहरु समेत बिना शुल्क उपयोग गर्ने समझदारी भएको व्यहोरा फिल्म निर्माण टिमबाट जानकारी प्राप्त भएको छ ।
सो अवसरमा चलचित्रका निर्माता तथा निर्देशक सुरेन्द्र तुलाधरले नेपाल भाषा, नेवार समुदायको संस्कृति र परम्परालाई जीवन्त राख्न चलचित्र क्षेत्रबाट गरिएको प्रयासहरुको चर्चा गर्दै यो शुभमुहुर्त कार्यक्रमलाई रोक्न भागवत नरसिहं प्रधानले टेलिफोन गरेर कलाकारहरुलाई भड्काउन खोजेको घट्नाप्रति दःुख व्यक्त गरेका थिए ।
उनले काठमाडौंका नेवार समुदायको बसोबास रहेको र अनेक मन्दिर,बहाल,बिहार रहेको ठमेल क्षेत्रमा स्थापना भई यहाँको धर्म,संस्कृति,मठ मन्दिर, विहारको संरक्षण र पूर्वाधार विकाससहित रोजगारी सिर्जना गरिरहेको छाँया सेन्टरमा अतिथि कलाकार लगायत अन्यलाई कार्यक्रममा नजान व्यक्तिगत दवाव दिनु अन्यन्त निन्दनीय कार्य भएको बताए । उनले नेपाल भाषा, नेवारी संस्कृति, सम्पदा, रीति, परम्पराप्रति आस्था र विश्वास भए तिनको संरक्षण र संबर्धनका साथै नेवार समुदायको आर्थिक र सामाजिक विकासमा ठमेल क्षेत्रका पर्यटन व्यवसायी र उद्यमीहरुसंग आपसी सरसल्लाह तथा समझदारीको पहल गरी सामुदायिक भाईचाराको विकास गर्न उत्तम हुने सुझाव भागवतनरसिहं प्रधानलाई दिए।
कार्यक्रमका प्रमुख अतिथि,बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई पनि कार्यक्रम बहिस्कार गर्नका लागि पटक पटक फोन गरेर आफुलाई दबाब दिएका भागवत नरसिहं प्रधानको गलत प्रवृत्ति र व्यबहारप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले ठमेलमा निर्माण भएको छाँया सेन्टर त्यस भवनमा रहेको होटल एलफ्ट,अत्याधुनिक सिनेमा हल, अन्तर्राष्ट्रिय स्तरको सपिड.सेन्टरले पर्यटकीय क्षेत्र ठमेलवासीको इज्जत र प्रतिष्ठा उच्च बनाएको बताए । उनले निर्माण भईसकेको यस्तो राम्रो संरचना,“छायाँ सेन्टर भत्काएर नै छाड्ने” भागवत नरसिहं प्रधानको धम्कीयुक्त चेतावनी सिर्जना र विकासको नभएर ध्वंसात्मक सोंचको परिणाम भएको उल्लेख गर्दै त्यसप्रति दुःख मात्र व्यक्त गर्न सकिने बताए ।
“लुँ यागु तक्मा” को शुभमुहुर्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा नेपाली सिने जगतका मुर्धन्य व्यक्तित्वहरु नीर शाह, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, रमेश उप्रेती, रविन्द्र खड्का, नागे डंगोल लगायतका व्यक्तित्वहरुले सम्पूर्ण कलाकार लगायत निर्माण टीमले यसरी निःशुल्क काम गरेर संकटमा परेका कलाकारको लागि सहयोग जुटाउने जस्तो उदाहरणीय कार्य गरेकोमा निर्माताहरुलाई धन्यबाद दिनुको साथै चलचित्रको सफलताको कामना गरेका थिए ।
करिब ३०० जना उपस्थित उक्त कार्यक्रममा उपत्यकाका नेवार समुदाय अग्रज, धर्म,संस्कृति र सम्पदा संरक्षक एवम् सामाजीक अभियन्ता, समाजसेवी, कलाकार लगायत स्थानीय नेवार समुदायका अगुवा एवम् युवाहरुले चलचित्रको सफलताको कामना गर्नुका साथै ठमेलाई पर्यटनको केन्द्र बनाउने र विकास निर्माण तथा आर्थिक लगानी र स्थानीय रोजगारीको आधारको रुपमा विकास भएको छाँया सेन्टर बिरुद्ध नेवारी समुदायको भावनामाथि सौदावाजी गर्ने भागवतनरसिहं प्रधान प्रवृतिले प्रोत्साहन पाउनु नहुनुको साथै छायाँ सेन्टर जस्तो आर्थिक लगानी भएको पर्यटकीय धरोहरको संरक्षणमा ऐक्यबद्धता जाहेर गर्दै आगामी दिनहरुमा लगानीमैत्री वातावरण सृजना गरी ठमेललाई गुणस्तरीय पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्ने धारण व्यक्त गरे ।
छायाँ सेन्टर रहेको जग्गाको स्वामित्वको विवाद गुठी संस्थानले निरुपण गरिसकेपछि पनि सोझा स्थानीयलाई भड्काएर व्यक्तिगत कुण्ठा तथा राजनैतिक महत्वकांक्षा परिपूर्ति गर्न कुनै बेला ठमेलका बासिन्दा रहेका अहिले सितालाईला बस्ने भागबत नरसिंह प्रधानबाट अनर्गल प्रचार भैरहेको छ। तर विश्वस्तरीय पाँचतारे होटल एलफ्ट रहेको,विश्वस्तरीय व्यापारिक केन्द्र रहेको, विश्वस्तरीय सिनेमा हल रहेको, स्थानीयलाई रोजगारी दिने र ठमेलको पिछडिएको भगवान बहालको रुपरंग फेरेर ब्यापारिक तथा पर्यटकीय केन्द्र बनाउने छाँया सेन्टर ठमेलवासीको इज्जत प्रतिष्ठा र आर्थिक विकासको आधार भएको स्थानीय अगुवा तथा समाजसेवीहरुले बताएका छन् ।