• नेपाली फिल्म क्षेत्र पौष १० गतेबाट खोल्ने, संघले दियाे सरकारलाई चेतावनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १९:२२

    काठमाडौँ  । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म बन्द रहेको नेपाली फिल्म क्षेत्र खुल्ने वारे सरकारले कुनै ठोस निर्णय दिन सकेको छैन । विभिन्न समयमा हल खोल्नुपर्ने माग गर्दै हलवालाहरुले सरकारलाई ज्ञापनपत्रहरु बुझाँउदै आएका छन् ।

    पटक पटक फिल्म क्षेत्रका लागि केही मागहरु राखि हल खोल्न अनुरोध गरेपनि सरकारले वेवास्ता गरेको भन्दै हलवालाहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । सोमवार संघको कार्यालयमा प्रेस मिट गर्दै सो वारे संघले जानकारी दिएको हो ।

    सबैभन्दा शुरुमा पौष १० गते हल खोल्ने संघले सरकारलाई चेतावनी दिएको छ । ‘हामी पौषको १० गतेदेखि हल खोल्छौं । सरकारले हामीलाई पक्राउ गर्छ भने हामी तयार छौं । हाम्रो पेट खाली भएको धेरै समय भइसकेको छ । अब पनि हामी यसरी चुपचाप बस्न सक्दैनौं । की सरकारले जिम्मेवारी लिनुपर्यो । की हल खोल्न अनुमति दिनुपर्यो’, संघका अध्यक्ष मधुसुदन प्रधानले फिल्मी फण्डासँग भने ।

    ‘सरकारको आश्वासनमा बस्न नसक्ने भएपछि बाध्य भएर चरणवद्ध आन्दोलनको तयारी गरेका हौं’, संघका महासचिव अशोक शर्माले भने । पौष १० मा कुन फिल्म रिलिज गर्ने भने जानकारी संघले दिएको छैन । तर, पौष १० बाटै आवश्यक रुपमा केही हलहरु खोलेर नेपाली फिल्म क्षेत्र चलायमान बनाउन पहल थालनी गर्ने संघले जनाएको छ ।

    कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढि मारमा परेको क्षेत्र फिल्म क्षेत्र हो । सबै क्षेत्र कोरोना प्रभावकै बीचमा खोलिसकेको अवस्थामा पूर्ण मापदण्ड पालना हुने र कम जोखिम हुने क्षेत्र खोल्न सरकारले आनाकानी गरिरहेको संघको आरोप छ ।

    संघले पौष १० मा हल खोल्ने चेतावनीसँगै केही मागहरु सरकार समक्ष राखेका छन् । फिल्म क्षेत्रलाई कोरोना प्रभावको अति प्रभावित क्षेत्रमा राख्नुपर्ने, विद्युत महसुल डिमाण्ड चार्ज मिनाह गर्नुपर्ने, मौद्रिक नीतिमा फिल्म क्षेत्र राख्नुपर्ने, उद्योगको मान्यता दिनुपर्ने, मनोरञ्जन कर खारेज गर्नुपर्ने,

    दुईबर्षसम्म मूल्य अभिवृद्धि कर मिनाह गर्नुपर्ने, विकास शुल्क खारेज गर्नुपर्ने र उपकरणहरु आयात गर्दा भन्सार छुट हुनेपर्ने लगायतका मागहरु संघले अघि सारेका छन् । पौष १० मा कुन फिल्म रिलिज हुने वा दर्शक हलसम्म आउने हुन् की हैनन् भन्ने विषयमा संघले कुनै जानकारी दिएको भने छैन । यस वारे अहिलेसम्म तयारी शुरु नभएकोले आजकै दिनबाट तयारी शुरु गरिने पनि संघले जनाएको छ ।

    Source: Filmyfanda.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु