~~ कविता ~~
“सित्तैको सलामी”-
आत्मियता मरेको समाजमा
श्रद्धाञ्जली सित्तैमा पाईन्छ अनि
सहानुभूति र शुभकामना तौलेर दिईन्छ ।
टुक्राटुक्रामा बिक्छन यहाँ
हड्डि खुर, मुटु, कलेजो र फोक्सोहरु
मोल गर्न हतार छन यहाँ ब्यापारिहरु
किड्नी बिक्छन यहाँ
बिक्छन आँखाको ज्योती र मुटुका धड्कनहरु ।
हड्डी नाप्छन, मासु जोख्छन
जोख्छन छाला र गालाहरु
जोखिन्छन इज्जत यहाँ वैंससंग
तौलिन्छन सम्मान यहाँ पैसासंग
अनि फ्याँकिन्छन जिउँदा लासहरु ।
लर्को जाँच्छन मलामिको
धर्को कोर्छन सिमानाको
मापन गर्छन् आर्थिक चापको
मुल्यांकन गर्छन् लेनदेनको
अनि निर्धारण गरिन्छ सलामिको।
लेखाजोखा हुनेछ सम्पत्तिको
व्याख्या हुनेछ ख्यातिको
सल्यक्रिया गरिनेछ इज्जतको
पोस्टमार्टम हुनेछ दागको
अनि निर्धारण गरिनेछ श्रद्धाञ्जलीको।
रामचन्द्र तिम्सिना
(आवाज)