माघ १ गतेदेखि नयाँ श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै सेवा अनलाइन मार्फत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष १८ गते, शनिबार ०९:३१

काठामाडौं । वैदेशिक रोजगार विभागले आगामी माघ एक गतेबाट वैदेशिक रोजगार कार्यालय ताहाचलमा व्यवसायी र श्रम प्रतिनिधिलाई निषेध गर्ने भएको छ । विभागले नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली मार्फत नै दिने भएसँगै विभागले व्यवसायी र श्रम प्रतिनिधिलाई निषेध गर्ने भएको हो । विभागले अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार पुनः श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था कार्यन्वयनमा ल्याएसंगै नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणाली बाटै दिन लागिएको हो ।

आगामी माघ १ गतेदेखि नयाँ श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै सेवा अनलाइन मार्फत नै दिनेगरी तयारी गरेका छौं विभागका महानिर्देशक कुमार दहालले भने ‘अनलाइन प्रणालीमा गएसँगै ताहाचल कार्यालयमा श्रम प्रतिनिधिको उपस्थिति रहनेछैन, केवल कार्यालयका कर्मचारीले डिजिटल प्रणालीमा नै सेवा दिनेछन् ।’

हाल वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा नहुँदा म्यानपावर कम्पनीहरुले डिमाण्डको पुर्व स्वीकृति तथा नयाँ श्रम स्वीकृतिको लागि फाइल बोकेर ताहाचल कार्यालय जानुपर्ने बाध्यता रहेको छ । तर विभागले अनलाइन प्रणालीलाई पूर्ण रुपमा कार्यन्वयनमा लगेपछि सेवा लिनकै लागि म्यानपावर व्यवसायी र श्रम प्रतिनिधि ताहाचल जानुपर्ने बाध्यता हट्ने महानिर्देशक दहालले बताए ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा म्यानपावर व्यवसायीले डिमाण्डको पुर्व स्वीकृति लिनुपर्दा श्रमिकको कोटा अनुसार कर्मचारीलाई रकम बुझाउनुपर्ने बाध्यता रहेको आरोप लगाउंदै आएका छन् । त्यतिमात्र होइन श्रम स्वीकृति निकाल्नुपर्दा विभिन्न बाहाना बनाएर कर्मचारीले फाइल रोक्ने गरेको व्यवसायीले बताउंदै आएका छन् तर अबदेखि कार्यालयमा म्यानपावर र श्रमप्रतिनिधिको उपस्थिति नै नहुने भएकोले यसमा पनि सुधार हुने विभागको बुझाई छ ।

विभागले शुक्रबारदेखि अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति सेवा शुरु गरेको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु